धरान : धरानको गोधुली क्लब र बराहक्षेत्रको न्यू स्टार क्लब सुनसरी जिल्ला स्तरीय 'ए' डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग अन्तर्गत सोमबार भएको तेस्रो चरणका खेलहरूमा जित निकाल्दै धरानको गोधुली र न्यू स्टार समूह 'क' बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन।

इटहरी रङ्गशालामा सोमबार भएको पहिलो खेलमा गोधुली क्लबले दुहबीको गोल्डेनस्टार क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । गोधुलीको जितमा बबिन लामा र सुशील राईले एक-एक गोल गरे । लामाले खेलको १५ औँ मिनेटमा गोल गर्दा राईले ४० औँ मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको १२ औँ मिनेटमा गोल्डेनस्टार क्लबका दिलीप चौधरीले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए पनि हार टार्न सकेनन् । उक्त खेलको म्यान अफ द म्याच गोधुलीका सुशील राई घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए । उनलाई पूर्व राष्ट्रिय खेलाडी एवं राखेपका बोर्ड सदस्य हरि खड्काले पुरस्कार प्रदान गरे।

सोमबार नै सम्पन्न दोस्रो खेलमा लगातार तेस्रो जित निकाल्ने क्रममा न्यू स्टार क्लबले दुहबीको एलेभेन एरोज क्लबलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। न्यू स्टारको जितमा कृष्ण थापाले २१ औ र सन्दीप श्रेष्ठले २८ औ मिनेटमा गोल गर्दा सुजित राईले ७८ औँ र अजय चौधरीले ८० औँ मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच विजयी न्यू स्टारका कृष्ण थापा घोषित भए ।

जारी लिगमा आफ्नो तीन खेलमा तीन वटैमा शतप्रतिशत जित निकाल्दै ९ अङ्क सहित शीर्ष स्थानमा रहँदै न्यू स्टार सेमिफाइनल प्रवेश गर्दा तीन खेलमा दुईमा जित एकमा हार सहित ६ अङ्कका साथ समूह उपविजेता बन्दै गोधुली क्लब पनि सेमिफाइनल प्रवेश गरेको हो । तीन खेलमा दुईमा हार र एकमा जीत निकाल्दै समूहको तेस्रो स्थानमा रहेको एलेभेन एरोज क्लब दुहबी र आफ्नो तीन वटै खेलमा पराजित गोल्डेनस्टार क्लब दुहबी भने प्रतियोगिताबाट बाहिरिएका छन्।

समूह 'ख' बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो भने भोलि मंगलबार हुने अन्तिम चरणको खेलबाट हुनेछ । समूह ख मा इटहरीको राष्ट्रिय जागृति क्लब दुई खेलमा शतप्रतिशत जित सहित शीर्ष स्थानमा छ भने धरानको ट्याम्के क्लब दुई खेलमा एकमा जित र एकमा हार हित तीन अङ्कका साथ दोस्रो स्थानमा छ।

धरानकै धरान फुटबल क्लब दुई खेलमा एकमा जीत र एकमा हार सहित गोल अन्तरको आधारमा तीन अङ्कको साथ तेस्रो स्थानमा छ। इटहरी फुटबल क्लब दुई खेलमा दुई वटैमा हार सहित अङ्क विहीन रहँदै पुछारमा छ । भोलि मङ्गलवारको पहिलो खेल राष्ट्रिय जागृति क्लब इटहरी र ट्याम्के क्लब धरानबिच प्रतिस्पर्धा हुँदा दोस्रो खेल इटहरी फुटबल क्लब र धरान फुटबल क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पौष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।