सुनसरी : इटहरीमा आजबाट सुरु भएको सुनसरी जिल्ला स्तरीय 'ए' डिभिजन जिल्ला लिग कम नकआउट फुटबलमा गोधुली क्लब र न्यु स्टार क्लबले विजयी सुरुवात गरेका छन् । इटहरी स्थित क्षेत्रीय रङ्गशालामा आज भएको पहिलो खेलमा धरानको गोधुली क्लबले दुहबीको एलेभेन एरोज क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो ।

गोधुलीलाई विजयी बनाउने क्रममा सुशील राईले दोस्रो हाफको २३ औ र दीपक गिरीले ३९ औ मिनेटमा एक-एक गोल गरे । खेलको म्यान अफ द म्याच विजयी टिम गोधुलीका सबिन राई घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ पाए ।

आजै भएको दोस्रो खेलमा न्यूस्टार क्लब वराहक्षेत्रले दुहबीकै गोल्डेन स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ। न्यु स्टारको जितमा सुजित राईले दोस्रो हाफको २८ औ मिनेटमा निर्णायक एक गोल गरे। उक्त खेलको म्यान अफ द म्याच न्यु स्टारका सन्तोष श्रेष्ठ घोषित भए । भोलि शुक्रवारको पहिलो खेल धरानको टेम्के क्लब र इटहरी फुटबल क्लब बिच हुनेछ । यस्तै दोस्रो खेल राष्ट्रिय जागृति क्लब इटहरी र धरान फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा सुरु भएको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । इटहरी रङ्गशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समूहमा विभाजित गरिएको छ। समूह 'क' मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यु स्टार क्लब वराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन्।

यस्तै समूह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन् भने इटहरीका राष्ट्रिय जागृति क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।

१७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल विजेताले ५१ हजार नगद पुरस्कार पाउँदा उपविजेता टिमले ३० हजार रुपैयाँ पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए ।