धरान : धरानमा तीन दिनसम्म 'धरान डे' मनाइने भएको छ। बुधवार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २०, २१ र २२ गते 'धरान डे' मनाइने निर्णय गरेको हो।

धरान उपमहानगरपालिकाले पुस २० गतेलाई 'धरान डे'को रूपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्ष मनाउने गरेको छ। पुस २० गते पहिलो दिन बिहान ११ बजे धरान-१२ स्थित पब्लिक हाई स्कुलबाट सांस्कृतिक झाँकी सहितको र्‍याली निकालिने छ भने दिउँसो १ बजे कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले 'धरान डे' उत्सवको औपचारिक रूपमा उद्घाटन गर्नेछन । सोही दिन पब्लिक हाई स्कुलको प्राङ्गणमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म साङ्गीतिक कार्यक्रम हुनेछ।

यस्तै दोस्रो दिन बिहान ७ बजे धरानका सबै वडाहरूमा वडा कार्यालय मार्फत टीएलओ परिचालन गरी वडा सरसफाइ गर्ने, सङ्घसंस्था परिचालन गरी जिरोप्वाईन्ट देखि तीनकुनेसम्म प्लास्टिक सरसफाइ कार्यक्रम र मास साईकलिङ आयोजना हुने बताइएको छ । सोही दिन बिहान साढे १० बजे धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठी हुने, दिउँसो १ बजे धरानको दीर्घकालीन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुति र छलफल हुनेछ भने सोही दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म साङ्गीतिक कार्यक्रम हुनेछ।

यस्तै तेस्रो दिन बिहान साढे १० बजेदेखि लोक जुवारी कार्यक्रम हुनेछ भने दिउँसो साढे १ बजे जातीय साङ्गीतिक कार्यक्रम प्रस्तुति हुनेछ । सोही दिन दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पब्लिक हाई स्कुलको प्राङ्गणमा रस्सी तान प्रतियोगिता हुनेछ भने साढे २ बजे कार्यक्रम समापन गरिनेछ। बेलुका ४ बजेदेखि ५ बजेसम्म पोखराको सांस्कृतिक प्रस्तुति हुने, साँझ ५ बजेदेखि धरानका कलाकारको प्रस्तुति हुने जनाइएको छ। मेयर राईले धरानमा रहेका जातीहरूको सांस्कृतिक भेषभूषा, गरगहना, जातीय नाच र खानपानलाई विशेष बाह्य तथा आन्तरिक पर्यटकहरूमा जानकारी गराउन उत्सव आयोजना गर्न लागिएको बताए।

पुस २० गते पहिलो दिन धरान उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। कार्यपालिका बैठक पुस १६ गते बिहान ८ बजे पुनः बस्नेछ।