इटहरी : मोरङको सुन्दरहरैंचा नगरपालिकाले १४ करोड बढीको लागतमा कृषि बजार निर्माण गर्ने भएको छ। सहरी पूर्वाधार विकास कार्यक्रम (युआईडिपी) अन्तर्गत बुधबारे कृषि बजार आयोजना निर्माणका लागि सम्झौता भएको हो।

वडा नम्बर ९ स्थित हालको हाटबजारलाई व्यवस्थित कृषि बजारको रूपमा विकास र विस्तार गराउने उद्देश्यका साथ बुधबारे कृषि बजार निर्माण गर्न लागिएको हो । सोमबार नगरपालिका र नगर विकास कोष बिच निर्माण कार्य अगाडी बढाउने सम्झौता भएको मेयर शिवप्रसाद ढकालले जानकारी दिए ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र मेयर ढकाल बिच ११ करोड ४१ लाख ५० हजारको सम्झौतामा हस्ताक्षर भएको छ। १४ करोड २६ लाख ८८ हजार अनुमानित लागत रहेको आयोजनाको लागि नगरपालिकाले २० प्रतिशत रकम बेहोर्ने भएको छ । १० रोपनी क्षेत्रफलमा निर्माण हुने बजारलाई नगरपालिकाको महत्त्वपूर्ण कृषि पूर्वाधार आयोजनाको रूपमा हेरिएको छ ।

सम्झौता गरेसँगै मेयर ढकालले आयोजना नगरपालिकाको नमुना कृषि पूर्वाधारको रूपमा स्थापित हुने बताए । आयोजना गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने उनको भनाई छ । सुन्दरहरैंचामा कृषि उपज उत्पादन बढ्दै गएको बेला त्यसको बजारीकरणमा नगरपालिकाले गम्भीरता पूर्वक लिएको उनले प्रष्ट पारे।

कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजनाले हालको अव्यवस्थित कृषि बजार व्यवस्थित हुने विचार व्यक्त गरे । स्थानीय कृषि उपज उत्पादनको बजारीकरणमा आयोजनाले टेवा पुर्याउने उनको भनाई छ।