बिर्तामोड : झापा गाउँपालिका झापाको एक मात्र सामुदायिक रानी वनमा बाल उद्यान सहितको पर्यटकीय स्थलको उद्घाटन भएको छ ।
झापा गाउँपालिकाले वरिपरि बस्तीले घेरिएको एक सुन्दर क्षेत्र रानी वन सामुदायिक वन भित्र पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरी विकासका आधार स्तम्भ तयार पारेको छ । ३ वटा वडाहरूको सीमा क्षेत्रसँग जोडिएको उक्त वनको पर्यटकीय क्षेत्र झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले रिबन काटेर उद्घाटन गरेका छन् ।

१० कठ्ठा क्षेत्रफलमा फैलिएको वाल उद्यानमा ८ वटा वोटिङ जलाशय सहितको वनभोज स्थल, एउटा घुम्ने पिङ, २ वटा चाकाचुली, १ वटा चिप्लेटी, ८ वटा पिङ, २ वटा स्प्रिङ हर्सको व्यवस्थापन गरिएको छ ।
२०६३ सालमा समुदायलाई हस्तान्तरण गरिएको रानी वन भित्र ८ वटा प्राकृतिक पोखरी मध्ये ६ वटा पोखरी सञ्चालनमा रहेका छन् । १० बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा कार्प जातका माछा पालनसँगै वोटिङ सञ्चालनका लागि ४ वटा वोट खरिद गरी प्रयोगमा ल्याइएको छ ।

स्थानीय सरकारको आगमनसँगै रानी वनमा पर्यटकीय क्षेत्र विकासका लागि हरेक वर्ष बजेट विनियोजन गरेर संवोधन गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए ।
रानी वन पर्यटकीय क्षेत्र विकासका लागि चालु आर्थिक वर्षमा मात्र १७ लाख बजेट व्यवस्थापन गरेको गाउँपालिकाले, सिमसार क्षेत्रमा पिकनिक स्पोटमा आवश्यक पर्ने पिउने पानी र शौचालयको व्यवस्थापनका लागि पहल गर्ने साथै संंघ र प्रदेश सरकारसँग थप व्यवस्थापनका लागि सहयोग माग गर्ने झापा गाउँपालिका वडा नं. ६ का अध्यक्ष हरिबहादुर वानियाले जानकारी दिए ।
२०२८ सालमा राजा महेन्द्रले सिकार खेल्ने क्रममा १८ हात लामो बाघको सिकार गरेको साथै रानीले सोही स्थानमा रहेको पोखरीमा कपाल धोएको किंवदन्ती रहेको उक्त पोखरीको संरक्षणका लागि रानी वनको उपमा दिएर नामाङ्कन गरिएको सामुदायिक वनमा पहिला सिमल र बयरका वोटहरु मात्र रहेको र पछि बिस्तारै अन्य प्रजातिका वोट बिरुवा लगाउँदै एक सुन्दर वन स्थापना भएको जानकारहरू वताउँछन । यसको संरक्षण र विकासमा गाउँपालिका वाट विशेष कार्यक्रम सञ्चालन गरेको वडा नं. ३ का अध्यक्ष मोतीलाल गणेशले जानकारी दिए ।

झापा गाउँपालिका वडा न. ३, ६ र ७ को सङ्गम स्थलमा रहेको उक्त सामुदायिक वन १०४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस वनको उत्तर पट्टी जलपा देवी मन्दिर र भलिबल खेल मैदानको व्यवस्थापन गरिएको छ भने दक्षिण तर्फ साकेला थान र फुटबल मैदानको स्थापना गरिएको छ ।
त्यसै गरी वनको मध्य भागमा पोखरीहरू रहेका छन् । पोखरीको आसपासमा हावा घरहरू, वनभोज स्थल, वाल उद्यान र भ्यु टावर स्थापना गरिएको छ । संरक्षित वन भित्र सिमसार क्षेत्रको व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता समिति लागि परेको वन सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार आङ्देम्बेले जानकारी दिए ।
रानी वन सामुदायिक वनका अध्यक्ष नरेन्द्र कुमार आङ्देम्बेको अध्यक्षतामा सञ्चालन गरिएको उद्घाटन कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रम सञ्चालन सामुदायिक वनकी सचिव पुष्पा प्रसाईँले गरेकी थिइन् ।










































































