चतरा : चतरामा जारी प्रथम बराह च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि पटनाली फुटबल क्लब धरानले जितेको छ। शनिवार सम्पन्न फाइनल खेलमा सप्तकोसी युवा क्लब देविघाटलाई ०-१ गोलले पराजित गर्दै पटनालीले उपाधि हात पारेको हो।
निकै प्रतिस्पर्धामा बनेको खेलको पहिलो हाफको चौथौँ मिनेटमा पटनालीले लिएको अग्रतालाई यथावत् राख्दा पटनाली उपाधिको हकदार बनेको थियो। पटनालीकालागि जर्सी नं ११ का सलमान लिम्बूले गोल गरेका थिए ।
पहिलो हाफमा १ गोलले पछि परेको सप्तकोसीले दोस्रो हाफमा खेलमा फर्कने प्रयास र पटनालीले अग्रतालाई दोब्बर बनाउने प्रयास गरे पनि कुनै टिमबाट गोल हुन नसक्दा पटनालीले सप्तकोसी माथि ०-१ को सङ्घर्षपूर्ण जित निकालेको थियो।
उपाधि जितेको पटनालीले नगद ५१ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र हात पार्यो । मुख्य प्रायोजक चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेल र प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले प्रथम पुरस्कार प्रदान गरेका थिए।
उपबिजेतामा चित्त बुझाएको सप्तकोसीले नगद ३१ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र हात पार्यो । प्रायोजक आदर्श सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष संन्तोषि पाण्डे र विशिष्ट अतिथि नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेतले दोस्रो पुरस्कार वितरण गरेका थिए।
विधागत पुरस्कार तर्फ पनि पटनालिका खेलाडी अगाडि रहेका छन् । फाइनल खेलको म्यान अफ द म्याच पटनालीका सलमान लिम्बू घोषित भए । उनले नगद २ हजार सहित ट्रफि प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट डिफेन्स पटनालीकै सुजन बस्नेत, उत्कृष्ट गोल रक्षक पटनालीका सुमन निरौला, सर्वाधिक गोलकर्ता पटनाली सहिल राई, राइजिङ्ग खेलाडी हाटखोलाका हिमाल कुँवर र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी सप्तकोसी राम साही घोषित भए । उनीहरूले नगद ३-३ हजार सहित मेडल प्राप्त गरे ।
स्थानीय बाइसबिघे खेल मैदान सम्पन्न प्रतियोगिताको फाइमल कार्यक्रम आयोजक क्लब हाटखोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवारको सभाध्यक्षता सम्पन्न भएको थियो ।


































































