चतरा : गत वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नलागेको कात्तिके अर्थात् हरिबोधिनी एकादशी मेला यस वर्ष आजबाट सुरु भएको छ। कोभिडका कारण भारतीय तिर्थालु आउन नसक्दा गत वर्ष मेला लाग्न सकेको थिएन भने व्यापारी तथा छिट फुट रूपमा मात्र स्थानीय भक्तजहरुले मेलाको औपचारिकता मात्र पुरा गरेका थिए । तर कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै गएको र मानिसको चहलपहल सुरु भएसँगै यस वर्ष भन्ने मेला आयोजना भएको हो।
प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक कार्तिके मेला यस वर्ष कात्तिक २९ गते सोमवार एकादशीको दिनबाट सुरु भई मङ्सिर ३ गते शुक्रवार पूर्णिमाको दिनसम्म ५ दिन आयोजना हुनेछ। मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको र मेलाको सम्पन्न तयारी समेत पूरा भएको मेला आयोजक वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए । उनका अनुसार भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, बिधुत लगाइएको छ। भने विभिन्न स्थानमा महिला र पुरुषको लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण गरिएको छ।
मेलाको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनको लागि वराहक्षेत्र नगरपालिका, वडा नम्बर १ को कार्यालय, बृहत्तर वराहक्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । उक्त मेला नगरपालिका बन्नेदेखि वराहक्षेत्र संरक्षण मञ्चले व्यवस्थापन गर्दै हुँदै आएको छ ।
भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्तिक्षेत्र र वराहक्षेत्रलाई संसारको चार दामको रूपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने संरक्षण मञ्चका सचिव घिमिरेले बताए । घिमिरेका अनुसार ५ लाख तिर्थालु भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ।
मेलालाई व्यवस्थित बनाउन मन्दिर परिसर सरसफाइ , कोका खोलाको बगर सम्याउने, मन्दिर तथा भौतिक संरचनामा रङरोगन लगाउने काम गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।



































































