धरान : धरान उपमहानगरपालिका वडा नं ६ पानवारिको सीमा क्षेत्रमा पर्ने मोरङको केराबारी गाउँपालिका वडा नं ५ देवीटारका किसानलाई बाँदर आतङ्कले हैरानी पारेको छ । लगाएको बाली बाँदरले राम्ररी खान नदिएपछि उनीहरू बसाई सराई गर्ने अवस्थामा पुगेका छन् ।

बाँदरले लगाएको अन्नबाली उब्जनी नभई उखेलेर फालिदिने, खाइदिने गरेपछि स्थानीय हैरान भएर बसाई सराइ गर्ने सोचमा पुगेका हुन् ।

खोटाङ घर भएका प्रेम बस्नेत तराइको सुगम जिल्लामा परिवारलाई सुखका साथ लालन पालन गर्ने उद्देश्यले पुर्ख्यौली घर बेचबिखन गरेर केराबारी गाउँपालिका वडा नं. ५ देवीटारमा परिवारसहित बसाई सरे । तराईमा थोरै परिश्रममा धेरै उब्जनी गर्ने अभिलाषा बोकेर २०५० सालमा बसाई सरेका उनलाई देवीटारमा आएर बसोबास गरेर खेती गर्न थालेपछि भने पहाडजस्तो सहज रूपमा आम्दानी नहुँदा छाँगाबाट खसेजस्तो भयो ।

पहाडभन्दा धेरै आम्दानी भए पनि उब्जनी भएको फसल राम्ररी खान नपाउने अवस्था आयो । यसको प्रमुख कारण गाउँ नजिकै रहेको जंगलबाट हुलकाहुल बाँदर आएर लगाएको बाली नाली नष्ट गरिदिने बस्नेत बताउँछन् ।

यस्तै बाँदरको पिडा सोही स्थानका पदम विश्वकर्माको पनि छ । उनले पनि लगाएको बाली कहिल्यै राम्रोसँग प्रयोग गर्न नपाएको गुनासो पोखे । उनले मकै, कोदो तथा हरियो सागसब्जी रोप्दा बाँदरले खाइदिने मात्र हैन लगाएको बाली उखेलेर फालिदिने गरेको बताए । उनी पनि बाँदरका कारण गाउँबाटै विस्थापित हुने अवस्था आएको बताउँछन् ।

यस बिषयमा त्यहाँ जनप्रतिनिधिहरूले समेत केही गर्न सकेका छैनन् । जनप्रतिनिधिको हैसियतले केराबारी गाउँपालिका वडा नं. ५ की सीतामाया विकले गाउँपालिकाको कार्यपालिकामा पटक पटक कुरा राखे तर बैठकमा सहभागी जनप्रतिनिधिहरूले यस विषयमा केही गर्न नसकेको गुनासो पोखे ।

त्यहाँ रहेका करिब २५ घर परिवार बाँदरकै कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । तर बाँदर व्यवस्थापनको विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदिएको स्थानीय कृषकहरूको गुनासो छ ।