धरान : उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन भएको छ ।
आज धरानको सर्दु र सेउती किनारबाट व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा विधि समाप्त गरेका हुन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो । छठको मुख्य दिन बुधवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।
छठमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई सात्विक भोजन गर्ने गर्दछन् ।









































































