धरान : यो तस्बिर हेर्दा जो कोहीलाई लाग्न सक्छ यो हिउँदमा तराइमा लाग्ने हुस्सु हो । तर तपाईँको अन्दाज गलत हुन पुग्छ । तपाई धरानबाट इटहरी तर्फ जाँदै हुनुहुन्छ भने यति बेला झुक्किन सक्नुहुन्छ । तराइतिर हुस्सु पो लागेको छ की भनेर ।

Seutima-Dhuwa-5यो हुस्सु नभएर धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्ने नाममा सेउती खोलाको किनारमा फ्यालेर जलाउँदा निस्किएको आगोको धुवाँ हो । यो धुवाँले तराईमा हुस्सु लागेको भन्दा बाक्लो गरी धरान इटहरी सडक खण्डको केही क्षेत्र ढाकी दिँदा त्यही सडक भएर ओहोरदोहोर गर्नेहरूलाई निकै सास्ती दिने गरेको छ ।

मोटरसाइकलमा हिडने यात्रीलाई आँखा पोल्ने र बसमा यात्रा गर्नेहरूलाई निसासिने गरी धुवाँ सडकमा हुन्छ । यसले गर्दा सडकको खाल्डाखुल्डी नदेख्दा दुर्घटना हुने जोखिम बढेको छ । धरान उपमहानगरपालिकाले यसरी अव्यवस्थित फोहोर व्यवस्थापन गर्दा निस्किएको यो धुवाले बाटोमा हिँड्ने सर्वसाधारण र सवारी साधनलाई निकै ठुलो असर गरेको सवारी चालकहरू बताउँछन् ।

Seutima-Dhuwa-7केही दिन यता त झन् फोहोर जलाउन लगाइएको आगोको कारण सेउती खोला आसपासको केही किलोमिटर सडक नै धुवाँले ढाकेको छ । यसरी धुवाँले सडक ढाक्दा धरान इटहरी सडक खण्डमा ओहोर दोहोर गर्ने सवारी साधनले हेड लाइट बाल्दा समेत अगाडीको सवारी साधन देख्न सकिँदैन । धुवामा निसासिएर सवारी चलाउनुपर्ने चालकहरूको दुखेसो छ ।

धरान उपमहानगरपालिकाबाट दैनिक सङ्कलन भएको फोहोर सेउती खोला बगरमा नभएर किनारमा फ्याल्दै आएको धरान उपमहानगरपालिकाका वातावरण शाखाका अधिकृत भेषराज घिमिरे बताउँछन् । फोहोरमा धरान उपमहानगरपालिकाले किन आगो लगाएको त भन्ने प्रश्नमा उनले उपमहानगरपालिकाले आगो नलगाएको र तामाजन्य बस्तु खोज्नेहरूले आगो लगाउने गरेको र तामा खोज्नेहरूले आगो लगाउँदा यस्तो समस्या भएको अधिकृत घिमिरेको दाबी छ ।

Seutima-Dhuwa-3

धरानबाट निस्किने फोहोर व्यवस्थापन गर्नका लागि भेञ्चर वेस्ट इनर्जी प्रालीसंग सहकार्य गरेर कुहिने फोहोरलाई प्रशोधन गर्ने भनिएको छ । तर यसो हुन नसक्दा अहिले तत्काललाई सेउती खोला किनारमै फोहोर फाल्न बाध्य धरान उपमहानगरपालिका भएको छ ।

भेञ्चर वेस्ट इनर्जी प्रालीसंगको सम्झौता कार्यान्वयन नहुन्जेल सम्म धरान उपमहानगरपालिकाले जङ्गलमा लगेर फोहोर गाड्ने योजना बनाएको छ । केही दिन भित्र जङ्गल क्षेत्रमा फोहोर एक्स्काभेटरे खनेर गाडेर व्यवस्थापन गर्ने धरान उपमहानगरपालिकाले तयारी गरिरहेको अधिकृत घिमिरेले बताएका छन् ।

Seutima-Dhuwa-2तर वातावरण र पर्यावरणको कुरा धरान उपमहानगरपालिकाले गरिरहँदा धरान प्रवेश गर्नै मुख्य बाटोलाईनै अवरोध पुग्ने गरी प्लास्टिक जलाउँदा निस्किने पिरो धुवाँको नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको तुरुन्त ध्यान केन्द्रित हुनुपर्छ ।

यदि यसो हुन सकेन भने यो प्रदूषित धुवाँसँगै सडक दुर्घटनाको उच्च जोखिम बढेको छ । त्यसैले यसबारेमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ । धरानको फोहोरलाई व्यवस्थित तरिकाले विसर्जन गर्नुपर्ने देखिन्छ ।

Seutima-Dhuwa-1