धरान : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएका छन् । प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन् ।

हमालले बुझाएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ । रिक्त मन्त्रालयको सूचना राष्ट्रपति कार्यालयमा पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।’

उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको आरोप लगाइएको छ । उनी प्रधानन्यायाधीश राणाको जेठान हुन् ।

राजीनामा दिँदै उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, म लामो समयदेखि काँग्रेसको विभिन्न पदमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्याङ्कन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ।

‘हाल विभिन्न सञ्चार माध्यममा समाचार र कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो बर्षैंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबिच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ ।

तर, पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’