धरान : धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्थिरता गराएर अन्यत्र सार्ने षडयन्त्र भइरहेको चार राजनीतिक दलले दाबी गरेका छन् ।
बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै चार राजनीतिक दलले प्रतिष्ठान अन्यत्र सार्ने षडयन्त्र भइरहेको समेत दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका धरान अध्यक्ष हर्कजंग एभेङले प्रतिष्ठानलाई जहिले अस्थिरतामा राखेर फेलर बनाउन खोजेको बताए ।
उनका अनुसार –‘प्रतिष्ठानको आन्दोलनमा ग्राण्ड डिजाइन छ, व्यक्ति विशेषको राजीनामा माग गर्नु र त्यही विषयलाई देखाएर आन्दोलन गरिरहनुले हामीलाई शङ्का लाग्न थालेको छ ।’
पत्रकार सम्मेलनमा लिम्बुवानका धरान नगर अध्यक्ष सञ्जुहाङ सावाले केन्द्रीय शक्तिहरू नै प्रतिष्ठानलाई सार्ने खेलमा लागेको बताए ।
उनले भने ‘सरकार नै प्रतिष्ठान भन्दा ठुलो अस्पताल अन्यत्र खोल्ने खेलमा लाग्नु र मेडिकल माफिया पनि प्रतिष्ठानलाई अस्थिरतातर्फ लगेर जहिल्यै आफ्नो स्वार्थ पूर्ति गरिरहेकोले धरान बचाउन भए पनि प्रतिष्ठानलाई बचाउन जरुरी छ ।’
प्रतिष्ठानको स्वास्थ्य सेवा सुचारु हुनुपर्छ चार राजनीतिक दलले माग गरे । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ३ महिना अघिदेखि भइरहेको आन्दोलनले नयाँ रूप लिएपछि प्रतिष्ठानको आकस्मिक सेवा र कोरोना अस्पताल बाहेक अरू सेवा बन्द छ ।
चिकित्सकहरूले ओपिडी सेवा बहिस्कार गरेपछि धरानका चार राजनीतिक दल नेकपा एमाले, सङ्घीय लिम्बुवान मञ्च नेपाल, राप्रपा र राप्रपा नेपालले प्रतिष्ठानको स्वास्थ्य सेवा बन्द गर्न नहुने भन्दै आन्दोलित भएका छन् ।
यसै क्रममा चार राजनीतिक दलका युवाहरूले प्रतिष्ठानका भिसीको कार्यकक्षमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरूले लगाएको ताला फुटाइदिएका थिए । बिहीबार पत्रकार सम्मेलन गर्दै चार राजनीतिक दलले आफूहरूको एक बुँदे माग मात्र ओपिडी लगायतको स्वास्थ्य सेवा सुचारु हुनुपर्छ भन्ने भएको बताएका छन् ।
लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले भने ‘हामीले आन्दोलनरत साथीहरूलाई नैतिक मात्र नभई भौतिक साथ समर्थन दिँदै आएको, दिइरहेको र भविष्यमा पनि रहने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौ, हाम्रो विमति भनेको स्वास्थ्य सेवा बन्द गर्ने कुरामा हो ।’
उनले भने ‘हामीले स्वास्थ्य सेवा सुचारु गर्दै सङ्घर्ष अघि बढाउन भनेका हौ । यस क्रममा प्रहरी प्रशासनले गरेको दमनका कारण आक्रोशित युवाहरूको भिडले प्रतिष्ठानका भिसीको कार्यकक्षमा लगाएको ताला फुटाएको भन्दै आफूहरू ताला फुटाउने पक्षमा नरहेको’ बताए ।
नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङले ताला खोल्न सहमति खोज्नुपर्ने भन्ने हाम्रो धारण थियो, जबरजस्ती ताला फुटाउने भन्ने हाम्रो कार्यक्रम थिएन तर प्रहरी प्रशासनका कारण भिड उत्तेजित भएपछि ताला फुटेको’ बताए ।








































































