धरान : १०८ औँ वीपी जन्म जयन्ती धरानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

धरान-१३ स्थित वीपी पार्कमा बिहीबार नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा बीपीको पुर्णकदमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

धरान उपमहानगरपालिका मेयर तिलक राई, प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, कोग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले तामाङ लगायत नेताहरूले वीपीको पुर्णकदको सालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा नेताहरूले १९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्य र राजनीतिमा व्यवहारवादी रहेको बताएका थिए ।

२००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गर्नुका साथै राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जन निर्वाचित पहिलो प्रधानमन्त्री बनेको नेताहरुले बताए ।

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष बीपीले जेल जीवन बिताएको बारेमा नेताहरूले चर्चा गरेका थिए ।

साथै, नेताहरूले स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित रहेको बताएका थिए ।

यसै गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २८ औँ स्थापना दिवस तथा १०७ औँ वीपी जयन्ती बिहीबार प्रतिष्ठानका पदाधिकारीहरूले मनाउन पाएनन् ।

प्रतिष्ठान सुद्धिकरणको माग लिएर निरन्तर आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले अवरोध गरेपछि पदाधिकारीहरूले आज बिहान कार्यक्रम गर्न नपाएका हुन् ।

प्रतिष्ठान व्यवस्थापन पक्षले प्रहरी एवं सुरक्षाकर्मी परिचालन गरेर कार्यक्रम गर्न खोजेपछि आन्दोलनकारीहरूको ठुलो सङ्ख्यामा उपस्थिति भएपछि पछि हटेका हुन् ।

व्यवस्थापन पक्षले बिहान साढे ७ बजे उपकुलपति कार्यालय परिसरमा झन्डोत्तोलन कार्यक्रम राखेको थियो भने पौने ८ बजे वीपी कोइरालाको सालिकमा माल्यार्पण कार्यक्रम राखेको थियो ।

व्यवस्थापन पक्षलाई कार्यक्रम गर्न नदिएको सङ्घर्ष समिति आफैले भने झन्डोत्तोलन कार्यक्रम गरेको थियो ।