धरान : कोरोना सङ्क्रमण धरानमा अत्यधिक वृद्धि भएको भन्दै धरानका विभिन्न राजनीतिक दलहरूले कडा लकडाउन गर्न धरान उपमहानगरपालिकालाई अनुरोध गरेपछि धरान उपमहानगरपालिकाले पनि कोरोना सङ्क्रमणको चेन ब्रेक गर्नकै लागि पनि कडा लकडाउन गर्ने तयारी गरेको छ ।
पछिल्लो समय प्रदेश १ कै पालिकाहरू मध्ये सबै भन्दा धेरै कोरोना सङ्क्रमण धरानमा भइरहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले पनि देखाउँदै आएको छ । निषेधाज्ञा खुकुलो भएसँगै पछिल्लो समय धरानमा दैनिक ५० जनाको हाराहारीमा कोरोना सङ्क्रमित थपिँदै आएका छन् ।
धरानमा सर्वसाधारणको अटेरीपन र स्वास्थ्य मापदण्ड पालना हुन नसक्दा कोरोना संक्रमणदर उच्च भएको बताइँदै आएको छ ।
त्यसैले धरानका राजनीतिक दलहरूले कडा लकडाउन गर्न धरान उपमहानगरपालिकालाई अनुरोध गरेपछि अव धरानमा कोरोना संक्रमणदर चेन ब्रेक गर्नकै लागि कडा लकडाउन गर्न लागिएको मेयर तिलक राईले कपुरी न्युजलाई जानकारी दिए ।
उनले भने हिजो सम्म लकडाउन गर्न सक्ने अवस्था थिएन । कक्षा १२ को परीक्षा भएकोले निर्णय गरिहाल्ने अवस्था थिएन । तर परीक्षा स्थगित भएकोले अव नगरवासीलाई अग्रिम जानकारी दिएर यो महिनाको अन्तिम देखि १५ दिन सम्म कडा लकडाउन गर्ने तयारी नगरपालिकाले थालेको मेयर राईले बताए ।
धरान भित्रका सबै उद्योग व्यवसाय, कलकारखाना लगायत सबै पुर्णरुपमा बन्द गर्ने र धरान हुँदै चल्ने सवारी साधनहरूलाई धरानमा नरोकी र मान्छे नचढाई,नउतारी सञ्चालन गर्न पाउने गरी कडा लकडाउन गर्ने तयारी भइरहेको छ । यसका लागि आवश्यक छलफल र तयारी भइरहेको मेयर राईले बताए ।
दलहरूले महामारी नियन्त्रण भन्दा बाहिर जाने खतरा भएकोले चेन ब्रेक गर्नको लागि १५ दिनसम्म कडा लकडाउन गर्न अनुरोध गरिसकेका छन् । दलहरूले लकडाउन गर्न अघि २ दिनसम्म खाद्यान्न सामग्रीहरू खरिद गर्ने समय उपलब्ध गराउन पनि सुझाव दिएका छन् ।
धरानका राजनीतिक दलहरूले दिएको सुझावको आधारमा केही दिन अघि लकडाउनका लागि पूर्व तयारी सबैलाई गर्न जानकारी दिएर मात्रै लकडाउन गरिने बताइएको छ ।








































































