धरान : सुनसरीको इटहरीमा मङ्गलवार राति भएको सवारी दुर्घटनामा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
झापाको कचनकबल घर भएका प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । उनी सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।
पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा खड्काको मृत्यु भएको सुनसरीका डिएसपी नरेन्द्र कार्की बताए ।
कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृत घोषित गरेको जानकारी कार्कीले दिए ।
दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए ।








































































