धरान : सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पछि निषेधाज्ञा मात्रै गरिएको सुनसरीमा आज देखि पूर्ण निषेधाज्ञा लकडाउन गरिएको छ ।

निषेधाज्ञा जारी हुँदा सार्वजनिक सवारी साधनहरू जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको थियो । यसले गर्दा मानिसको आउजाउ बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीको हिजो बसेको डिसिसिएमसीको बैठकले वैशाख ३१ गते सम्म पूर्ण निषेधाज्ञा, लकडाउन नै गर्ने निर्णय गरेको हो ।

आज पूर्ण निषेधाज्ञा, लकडाउन घोषणा गरिएको पहिलो दिन धरानमा भने बजार पसलहरू पुर्णरुपमा बन्द रहेका छन् भने सवारी साधनहरू पनि बन्द नै रहेका छन् । तर बजारमा मोटरसाइकल चलिरहेको देखिन्छन् । प्रहरीले रोक्न खोज्दा पनि मुख्य बजार क्षेत्रमै मोटरसाइकल बढी चलेका छन् । त्यसै गरी सर्वसाधारणको पनि बढी नै हिँडडुल बजार क्षेत्रमा देखिन्छ ।

मानिसको आउजाउ बढेकोले बढी कोरोना सङ्क्रमण भएको भन्दै लकडाउन सम्मको प्रशासनले निर्णय गरे पनि यसको खासै प्रभावकारिता भने देखिँदैन । धरान बजारको मुख्य सडकमा मोटरसाईकलहरु पार्किङ गरेको पाईएको छ ।

धरान प्रहरीले मोटरसाइकल र सर्वसाधारणको हिँडडुललाई पुर्णरुपमा आज दिनभरिमा बन्द गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । तर सर्वसाधारणको अटेरीपन भने धरानमा देखिएको छ ।









































































