धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र जननेता विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण कदको सालिक अनावरण गरिएकाे छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २७ औ वार्षिकोत्सव तथा १०७ औ वीपी जयन्तीको अवसरमा  प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले सालिक अनावरण गरेका हुन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जि ओपिडी अगाडी बीपीको पुर्णकदको अनावरण गरिएको हो ।

७ फिट अग्लो बीपी कोइरालाको पूर्ण कदको सालिक जर्मन जेल पदार्थबाट १८ दिनमा  निर्माण गरिएको कलाकार विक्रम श्रीले जानकारी गराए । कार्यक्रममा वीपी प्रतिष्ठानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडी बढाउनका लागी तीव्र गतिमा कामहरू भइरहेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए ।

वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानको अघिल्लो वर्षको वार्षिक प्रतिवेदन तथा आगामी दिनहरूको योजना पुस्तक विमोचन गरिएको थियो । पुस्तकलाई उपकुलपति सहित प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. गुरुप्रसाद खनाल, रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशङ्कर साह, धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले संयुक्तरुपमा विमोचन गरेका थिए ।