धरान : लकडाउनको समयमा धरानको निजी विद्यालयहरूले शुल्क असुल गर्न र विद्यालय भर्ना गर्न अभिभावकलाई व्यापक दबाब दिएको जनगुनासो बढेको विषय प्रति नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं. १ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालयहरू कहिले देखि सुचारु हुन्छन् भन्ने अन्यौलता समेत रहेको समयमा र कोरोना सङ्क्रमणको त्रासले मनोवैज्ञानिक रूपमा समेत त्रसित भएर बसेको अवस्थामा र विगत लगभग ४ महिनादेखि बन्द रहेको विद्यालयहरूले यस अवधिको शुल्कहरू चुक्ता गर्न विद्यार्थी भर्ना गर्न गरेको दबाब प्रति नेविसंघले भर्त्सना गरेको छ ।

शिक्षा मन्त्रालयले विगत २०७७ वैशाख २२ मा मन्त्री स्तरमा निर्णय गरी नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि निजी विद्यालयले कुनै पनि तह वा नयाँ कक्षामा भर्ना नगराउनु, गर्न लाउने कार्य नगर्नु भनेर प्रस्ट निर्देशन नगरेको अवस्थामा प्याव्सन र नेशनल प्याब्सन अन्तर्गतको धरानको निजी विद्यालयहरूले शुल्क बुझाउने र भर्ना गर्न दबाब दिइरहे भन्दै नेविसंघ सुनसरी क्षेत्र नं. १ ले एक विज्ञप्ति प्रकाशित गरी शैक्षिक संस्था नखुलुन्जेल अवधिको कुनै पनि शुल्क नतिर्न र पढाइ सुरु हुने समय निश्चित भए पछि मात्र भर्ना शुल्क बुझाउन हुन अभिभावक वर्गमा अनुरोध पनि गरेको छ ।

नेविसंघ क्षेत्रनं. १ सुनसरीका सभापति बालकुमार राई र सचिव विनोद आले मगरद्वारा जारी विज्ञप्तिमा लकडाउनको बेलाको विद्यालय शुल्क र भर्ना गर्ने दबाब दिइएको सम्बन्धमा त्यस्ता कार्य तत्काल रोक्नका निम्ति धरान उपमहानगरपालिका शिक्षा शाखालाई अनुरोध पनि गरिएको छ ।