सुनसरी: सुनसरीको रामधुनी नगरपालिका २ स्थित कृषि फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी १४ जना घाइते छन् । आज बिहान साँढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, उनका श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी हायसमा सवार झापा कचनकवलका २५ बर्षीय कृष्ण चौहान, काठमान्डौ अनामनगरकी ७ बर्षीया अग्रिता श्रेष्ठ, २८ बर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० बर्षीय बम बहादुर बस्नेत, झापा चन्द्रगढीका १२ बर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ बर्षिय होम बहादुर कार्की, मोरङ पथरीका ४९ बर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ बर्षीय तारा कुमारी राय, ३८ बर्षीय माया काफ्ले, ३५ बर्षीया साबित्रा राई र हायसका सहचालक सोलुखुम्बुका २३ बर्षीय केदार बस्नेत घाईते भएका छन् । घाईतेहरु मध्ये बस्नेतको एपेक्स हस्पिटल ईटहरी, कार्कीको धरानको घोपामा र अन्य घाईतेहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
यसैगरी, बसमा सवार रहेका मकवानपुर हेटौडाका ३८ बर्षीय बेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ बर्षीय खगिन्द्र नेपाल र झापा कमल गाँउपालिकाका २६ बर्षीय राजकुमार शर्मा घाईते भएका छन् । बसमा सवार रहेका तीनै जना घाईतेहरुको एपेक्स अस्पताल ईटहरीमा उपचार भईरहेको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।








































































