धरान: बलात्कार आरोपमा निलम्बनमा परेका संघीय प्रहरी कार्यालय धरानका एसएसपी सौरभ राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत सुनसरीले आज राणालाई पक्राउ गर्न अनुमति दिएको हो । ‘अदालतबाट पक्राउ पुर्जी जारी भएको छ,अहिलेलाई यति नै भनौं,’जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी विनोद शर्माले भने । अदालतले पक्राउ पुर्जी जारी गरेपनि राणा भने प्रहरीकै सम्पर्कमा छन् । उनी आफै इनरुवा पुगेको प्रहरी स्रोतको भनाई छ ।
तीन दिनअघि बिहिबार एक महिलाले आफु राणाबाट बलात्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालय इनरुवामा दिएकी थिइन् । उनको उजुरी दर्ता भएसँगै गृहमन्त्रालयले एसएसपी राणालाई पदबाट निलम्बन गरेको थियो । राणा पक्राउ परेको हल्ला चलेपनि प्रहरीले उनलाई आजसम्म पक्राउ भने गरेको छैन । ‘पक्राउ पुर्जी नै जारी भएको थिएन, त्यसैले पक्राउ गर्ने सवाल नै थिएन,’प्रहरी उच्च स्रोतले भन्यो,‘उहाँ हाम्रो निगरानीमा चै हुनुहुन्थ्यो, र नियमित सम्पर्कमा नै हुनुहुन्थ्यो ।’
प्रहरी स्रोतका अनुसार राणाले आफै कानुनी प्रक्रियाको लागि उपस्थित हुने प्रतिवद्धता जनाएका थिए भने कानुन व्यवसायीहरुसँग इनरुवामा पुगेर छलफल पनि गरिरहेका थिए । उच्च अधिकृत भएकोले पनि प्रहरीले उनलाई कार्यालयबाट पक्राउ नगर्ने नीति लिएको थियो । राणा आफैले पनि कानुनी प्रक्रियालाई सहयोग गर्ने जनाएका थिए ।'सर आफै इनरुवा जानुभएको छ, पक्राउ गरेको होइन,'संघीय प्रहरी कार्यालय स्रोतले भन्यो ।
एसएसपी राणा र पीडित भनिएकी महिलाबीच पुरानो सम्बन्ध हो । राणा एसपी हुँदा जिल्ला प्रहरी कार्यालय प्रमुख भएर सुनसरी आएका थिए । त्यही समयदेखि उनीहरुबीच चिनजान र सम्बन्ध बढेको थियो । बीचमा उनीहरुबीच मनमुटाव बढेपछि बलात्कार काण्ड भएको हो । राणा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख भएर पनि सुनसरी आएका थिए भने पछिल्लो समय एसएसपीमा बढुवा भएपछि धरानस्थित संघीय प्रहरी इकाई प्रमुख भएर आएका थिए ।








































































