धरान : जातका आधारमा कसैले कसैलाई विभेद गर्न नहुने पब्लिक हाई स्कूल धरान १२ का प्रधानाध्यापक इन्द्रमोहन झाले विद्यार्थीहरुलाई सुझाव दिएका छन् ।
दलित विकास समिति धरान उपमहानगरपालिकाद्धारा माघ ५ गते विद्यालयमा आयोजना गरिएको छुवाछूत विरुद्ध स्कूल–स्कूल अभियान कार्यक्रममा प्रमुख अतिथि रहेका प्रअ झाले उक्त कुरा बताएका हुन् । उनले भने– ‘विद्यालयमा कसैले पनि जातका आधारमा भेदभाव गर्नु हुँदैन । हाम्रो विद्यालयमा कसैले पनि विभेद गर्नु हुँदैन हामी सबै समान हौं । धरान उपमहानगरपालिका दलित विकास समितिले विद्यालयमा सबैलाई सचेत गराएकोमा हामी आभारी छौं ।’
अभियानलाई सम्बोधन गर्दै दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले जातीय विभेद नगर्नु, कसैले गरेमा सम्झाउनु र पनि मानेनन् भने दलित विकास समितिलाई खबर गर्नु भने । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थी एवम् शिक्षकहरुको सहभागिता रहेको उक्त अभियानमा सदस्यसचिव लामगादेले भने– ‘नेपालमा १२५ जात र १२३ भाषा छन् । २६ वटा जाति दलित वर्गमा पर्छन् । दलित जात होइन अवस्था हो । आर्थिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक र सामाजिक रुपमा पछि पारिएको समुदाय नै दलित हो । उल्लेखित ५ पक्षमा सुधार भएपछि दलित रहँदैन त्यो अभियानमा सबैलाई सचेत गराउँदै जनचेतना बृद्धि गराउन कार्यक्रमको आयोजना गरेका हौं ।’
वि.सं.१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन बनाएर छूवाछूत प्रथामा आधारित जातीय व्यवस्था स्थापना गरेको र २००७ सालबाट जात व्यवस्थाको अन्त्य भएको सदस्यसचिव लामगादेले बताए । उनले भने– ‘नेपालको संविधान र मुलुकी ऐनमा समेत जातीय आधारमा विभेद गर्न नहुने कुरा उल्लेख गरिएको छ । विभेद गरेमा ३० हजार जरिवाना वा ३ वर्ष कैद (जेल सजाय) हुने कानूनी व्यवस्था छ । व्यवहारिक रुपमा जातीय विभेदको पूर्ण अन्त्य गर्न विद्यालयहरुमा हामीले यो अभियान चलाएका हौं, सबै सचेत बनौं र अभियानमा सहभागि बनौं ।’
त्यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य तथा समितिका संयोजक किशोर परियारले धरानका १० वटा सामुदायिक विद्यालयमा छूवाछूत विरुद्ध स्कूल–स्कूल अभियान सञ्चालन गरिएको बताए । उनले भने– ‘विद्यार्थी भनेका चेतनाका संवाहक हुन्, आ–आफ्नो घरमा छूवाछूत तथा विभेद गर्नु हुँदैन भनेर प्रचार गरेमा विभेदको अन्त्य हुन्छ । आर्थिक वर्ष २०७६।०७७ मा विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं त्यसमा यो अभियान पनि प्रमुख हो ।’
समितिका सदस्य धनबहादुर हमालले कार्यक्रमको सञ्चालन गरेका थिए भने सदस्य खगेन्द्रबहादुर नेपालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रामधारी बासफोर, लिला शंकर, पब्लिक हाई स्कूलका शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


































































