इनरुवा: सुनसरीको इनरुवामा जारी दोश्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न समुह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले मलेसिया –११ लाई पराजित गरेको छ।
इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मलेसियाले दिएको ५० रनको लक्ष्य सुदुरपश्चिमले २ विकेट गुमाएर ७.२ ओभरमा पुरा गर्यो । सुदुरपश्चिमको लागि लोकेश बम र खडक बोहराले अविजित समान १५ रन बनाए। गजेन्द्र बोहरा ११ तथा अरुण ऐरी ६ रन बनाएर आउट भए। मलेसियाको लागि अनवर रहमान र धीभेन्द्रन मोगनले समान १–१ विकेट लिए।
टस जितेर ब्याटिंग रोजेको मलेसियाले कमजोर ब्याटिंग गर्दै २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाएको थियो। मलेसियाको लागि भिरनदिप सिंहले सर्वाधिक २२ रन रन बनाए, जुन क्रममा ६९ बलमा ३ चौका प्रहार गरे। भिरनदिप बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मलेसियालाई सानो योगफलमा समेट्न सुदुर पश्चिमका अफ स्पिनर शेर मल्लले ५ तथा बिनोद लामाले ४ विकेट लिए। मल्लले १० ओभरमा ३ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। लामाले ९ ओभरमा ३ मेडन ओभर गर्दै २१ रन खर्चिए। बिक्रम ठगुन्नाले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच सुदुरपश्चिमका शेर मल्ल चुनिए।
प्रतियोगिता अन्तर्गत आइतबार हुने समुह ‘डी’ अन्तर्गतकै दोश्रो खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। भोलिको खेल सुदुरपश्चिमले जितेको खण्डमा सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछ। प्रतियोगिता अन्तर्गत यस अघि समुह ‘ए’ , ‘बि’ र ‘सी’ का खेलहरु सम्पन्न भइसकेका छन् जसबाट त्रिभुवन आर्मी क्लब, प्रदेश–३ र नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































