धरान : नेपाली कांग्रेस खेलकुद क्षेत्र समन्वय समिति धरानले एक कार्यक्रमको आयोजना गरि कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईलाई ११ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएका छन् ।
सोमबार धरान १० स्थित रहेको शैनिक भवनमा सम्मान तथा प्रतिवद्धता कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस खेलकुद क्षेत्र समन्वय समिति धरानले मेयरका प्रत्यासी उम्मेद्वार तिलक राइलार्ई प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएका हुन् । खेलकुद क्षेत्र समन्वय समिति धरानले उक्त कार्यक्रममा विभिन्न विद्याका १३ जना खेलाडीलाई सम्मान समेत गरेका छन् । करातेका किरण लामा, ब्याडमिन्टनका सम्झना खालिङ, तेक्वान्दोका नविनचन्द्र मादेन, टेबलटेनिसका दिपक श्रेष्ठ, बास्केटबलका रवि बास्फोर, उसुका शिवु गुरुङ, बुद्धीचालका पर्वतमान श्रेष्ठ, साईकलिङका श्याम तामाङ, प्याराग्लाइडिङका तारामनि राई, क्रिकेटका राजकुमार कर्माचार्य, बडीविल्डिङका इश्वर मानन्धर, फुटबलका भिम राईलार्ई सम्मानित गरिएको कार्यक्रमका सभापति तथा खेलकुद क्षेत्र समन्वय समिति धरानका संयोजक किशोर राईले बताए । संयोजक राईले धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर पदमा यूवा नेता तिलक राई आयो भने मात्र धरानको खेलकुद क्षेत्रको विकास हुने बताए । साथै उनले मेयरका उम्मेद्वार राईलाई जितको शुभकामना पनि दिए ।

कार्यक्रमका विशेष अथिति यूवा नेता तथा मेयरका प्रत्यासी तिलक राईले कार्यक्रममा बोल्दै भने, ‘म चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा कात्तिक ९ गतेदेखि हिडेको हिडैछु । अहिले घरदैलो कार्यक्रममा दैनिक २० देखि २५ किलोमिटर हिड्छु । जो तो दैनिक २० देखि २५ किलोमिटर हिड्ँन सक्दैन । किनभने म पनि एउटा खेलाडी हुँ ।’ मेयरका उम्मेद्वार राईले आफु धरानको मेयर पदमा विजयी भएर गएभने आजको जुन ११ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ, त्यो सबै पुरा गर्ने बताए । उनले भने, ‘खेलाडीहरुको भावना बुझ्नु त्यो मेरो नियतमा छ, किनभने म पनि खेलाडी नै हो, विगतका समयदेखि विभिन्न खेलका विद्याहरुमा प्रतिनिधित्व गर्दै आएको मान्छे हुँ ।’ साथै उम्मेद्वार राईले सम्मान हुने खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
एघार बुँदे प्रतिवद्धतामा त्यस्तो के छ ?
१, ‘धरान खेलकुदको शहर’को रुपमा नगरपालिकाद्वारा घोषणा गरिनु पर्ने र यसलाई विधिवत रुपमा सञ्चालन गर्न सबै खेल विद्यालाई सम्बोधन हुने गरी समाबेशी विद्यान निर्माण गरिनुपर्ने ।
२, आजको २१ औं शताब्दीमा ‘स्पोर्ट इज विजनेस’को लक्ष्य लिई समग्र खेलकुदको विकास तथा खेलाडी र खेलकर्मीको जीवनयापनलाई सहज र सरल बनाउन व्यावसायिकरणलाई जोड दिने ।
३, खेल संघको सक्रियतामा पदक जित्न सक्ने सम्भावित खेलकुदलाई पहिचान गरी प्राथमिकताका साथ प्रशिक्षक एवं प्रशिक्षण र प्रतियोगिताको व्यवस्था गर्ने ।
४, धरानलाई खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने व्यक्तित्वहरुको अभिलेखन सहितको स्पोर्टस पार्क बनाउने । साथै स्पोर्टस एकेडेमी सञ्चालन गर्ने ।
५, विद्यागत उत्कृष्ट वर्ष खेलाडि र उत्कृष्ट महिलालाई वर्ष खेलाडी र एकजना सर्वोत्कृष्ट महिला धरान वर्ष खेलाडी घोषणा गरी वर्ष खेलाडीका रुपमा पुरस्कृत गर्ने र समग्र खेलबाट एकजना सर्वोत्कृष्ट धरान वर्ष खेलाडी घोषणा गरी पुरस्कृत गर्ने ।
६, खेलकुद क्षेत्रलाई नगरपालिकाको अभिन्न अंगको रुपमा स्थापित गरी समग्र खेलकुदको विकासको निम्ति समावेशी बजेट विनियोजन गरी कार्यान्वयन गर्ने तथा अनुगमन गर्ने ।
७, हाल धरान उपमहानगरपालिकाको स्वामित्व,जिल्ला खेलकुद विकास समिति, स्कुल, कलेज, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघसंस्था तथा क्लबहरुको स्वामित्वमा रहेको खेलकुदका पुराना भौतिक संरचनाहरुलाई मर्मत, स्तरोन्नति गर्न सम्बन्धित खेल तथा संघसंस्थासँग छलफल गरी ठोस योजनाका साथ भौतिक संरचनाको स्तरोन्नति गर्ने । नयाँ भौतिक संरचना निर्माण गर्न धरान उपमहानगरबाट आवश्यक बजेट विनियोजित गर्नुका साथै भौतिक संरचनाको प्रस्ताव प्रदेश सरकार र संघीय सरकार समक्ष पेश गर्ने । वैदेशिक सहयोग प्राप्त हुन सक्ने दाताहरुसँग सहकार्य एवं सहयोगको लागि पहल गर्ने ।
८, लामो समयदेखि स्वयमसेवक प्रशिक्षको रुपमा रहेको प्रशिकहरुलाई उनीहरुको नियमितता, क्षमता र योगदानको मूल्यांकन गरी नगरपालिकाको करार प्रशिक्षकमा नियुक्त गर्ने । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, मिस्टर धरान शारिरिक सुगठन प्रतियोगिता लगायत धरानमा विगत वर्षदेखि संचालित खेल प्रतियोगिताहरुलाई समयानुसार बजेट निर्धारण गरी निरन्तरता दिने ।
९, विगत लामो समयदेखि सञ्चालित राष्ट्रिय, अन्तराष्ट्रिय, प्रदेश, जिल्ला तथा स्थानीय प्रतियोगिताहरु जस्तै बुढासुब्बा गोल्डकप, वीपी कोइराला मेमोरियल अन्तराष्ट्रिय कराँते प्रतियोगिता, होराइजन बास्केटबल प्रतियोगिता, प्रदेश नं. १ स्तरिय ब्याडमिन्टन प्रतियोगिता, गोधुलीकप, तरुण बक्सीङ, धरान ओपन ब्याडमिन्टन च्याम्पियनसिप, बुढासुब्बा बडिविल्डिङ राष्ट्रिय प्रतियोगिता, राष्ट्रिय जुनियर टेबुल टेनिस प्रतियोगिता, सुर्य नेपाल गल्फ, मेयरकप खुल्ला साइकलिङ प्रतियोगिता, जिल्ला स्तरिय महिला बास्केटबल प्रतियोगिता आदिलाई समयानुकल थप बजेट विनियोजन गर्ने तथा सम्पूर्ण खेल संघलाई वार्षिक कार्ययोजना बनाउन लगाई आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनका साथै प्रभावकारी अनुगमनको व्यवस्था गर्ने ।
१०, धरान उपमहानगरपालिका भित्र कुनैपनि खेल प्रतियोगिता सम्पन्न गर्दा आवश्यक मर्यादित, व्यवसायिक एवं रोजगारीको अवसर सृजना गर्ने ।
११, नेपाली कांग्रेस धरान उपमहानगरपालिका खेलकुद क्षेत्र समन्वय समिति २०७६ मंसिर १४ को उपनिर्वाचन पश्चात पनि निरन्तर गतिशिल रहनेछ ।
कार्यक्रमका सभापति किशोर राई, राखेपका पूर्व कोषाध्यक्ष तथा प्रमुख अतिथि मोहन राई, बरिष्ठ बक्सिङ खेलाडी विनोद राई, बक्सिङको ओलम्पियन च्याम्यिन नरेन्द्र पोमो, बरिष्ठ एथलेटिक्स राजभगत प्रधानाङ्ग, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाक्ष्य चन्द्रशेखर लामा, नेपाल टेबलटनिस संघका पूर्व केन्द्रिय उपाध्यक्ष राजुमान श्रेष्ठ, कराते राष्ट्रिय प्रशिक्षक दिपेश शाक्य, बडी विल्डिङ केन्द्रिय उपाध्यक्ष प्रेम प्रकाश थेवे, नेपाल कराते महासंघका पूर्व केन्द्रीय सदस्य एवं सितोरियो कराते सुनसरी अध्यक्ष कुवेर राई लगायतको उपस्थिति रहेको थियो ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































