झापा : यस वर्षको झापा स्पोर्टस् अवार्डको उपाधि उमेश राई (पुरुषतर्फ) र एस्तर राई (महिलातर्फ) जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले प्रदान गर्दे आएको अवार्ड शारीरिक सुगठनका साउथ एसियन च्याम्पियन उमेश राईले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पार्दै उपाधि जितेका हुन् । उत्कृष्ट खेलाडीको उपाधिसँगै उनले एक थान मोटरसाइकल पुरस्कार पाएका छन् ।
त्यस्तै, महिलातर्फकी पुरस्कृत एस्तर झापाकी हुन् । कराँते खेलाडी एस्तर एकेएफ केडेट च्याम्पियन हुन् । उनले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिबलकी विनीता बुढाथोकीलाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडीको उपाधि चुमेकी हुन् । उनले उपाधिसँगै एक थान स्कुटर पुरस्कार प्राप्त गरेकी छिन् ।
यसै गरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याडमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन् । युवा वर्ष खेलाडी भएकी बेगमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जितेका छन् । उनले बक्सिङका डम्बर लिम्बू र कराँतेका प्रशिक्षक योगेश राईलाई पछि पारेका हुन् । खड्काले २५ हजार रुपैयाँ प्राप्त गरे। पिपुल्स च्वाइसको अवार्ड फुटबलर कर्ण लिम्बूले जितेका छन् । उनले पुरस्कार स्वरुप २५ हजार रुपैयाँ प्राप्त गरे ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबल खेलाडी गणेश विक्रम नेम्बाङले पाएका छन् । उनले उपाधिसँगै ३५ हजार रुपैयाँ प्राप्त गरे। २०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्बाङको स्मृतिमा अवार्ड पछिल्लो तीन वर्षदेखि स्पोर्टस् अवार्ड कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































