धरान : गर्मी विदाको सदुपयोग गर्दै धरानमा १० दिने रियो समर फुटबल प्रशिक्षण क्याम्प सञ्चालन हुने भएको छ ।
विद्यार्थीहरुको खाली समय सदुपयोग गर्ने तथा खेल प्रतिभा पनि उत्पादन गर्ने उद्देश्य लिएर प्रशिक्षण आयोजना गरिएको हो । आयोजक धरान फुटबल फ्यान क्लबका अनुसार प्रशिक्षण धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा हुनेछ । साउन ६ गतेदेखि शुरु हुने प्रशिक्षण १५ गते समापन हुने क्लबका अध्यक्ष अशोककुमार राईले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा धरानका विभिन्न स्कुलबाट १ सय ५० विद्यार्थीहरु सहभागी हुने अनुमान छ । ‘गत बर्ष पनि धेरै विद्यार्थीहरु सहभागी थिए, यसपटक डेढ सय मात्र विद्यार्थीहरु सहभागी गराउछौं,’उनले भने ।
अध्यक्ष राईका अनुसार प्रशिक्षणले विद्यार्थीहरुको समय पनि सदुपयोग हुनेछ भने फुटबल खेलप्रति विद्यार्थीहरुको रुचि पनि बढाउनेछ । साथै, भविष्यमा प्रतिभाशाली खेलाडी उत्पादनमा पनि टेवा पुग्नेछ । प्रशिक्षणमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरु सहभागी हुने क्लबका महासचिव रामकृष्ण खड्काले बताए । फुटबल क्याम्प गतवर्षदेखि क्लबले धरानमा आयोजना गर्न थालेको हो । पहिलो बर्ष नै गत साल ३ सय ७५ विद्यार्थीहरु सहभागी भएका थिए । ‘गत बर्ष पनि प्रशिक्षणमा उत्साहजनक सहभागिता भएको थियो, यो बर्ष पनि पक्कै धेरै नै संख्या होला, तर हामीले डेढ सय मात्र विद्यार्थीहरु सहभागी गराउछौं,’महासचिव खड्काले भने,‘प्रशिक्षण क्याम्पसलाई व्यवस्थित गर्न संख्या सिमित गरिएको हो ।’
प्रशिक्षण विहान ६ बजेदेखि ८ बजेसम्म हुनेछ । प्रशिक्षणमा छात्र र छात्रा दुवै सहभागी हुनेछन् । उनीहरुलाई ए.एफ.सि. लाइसेन्स प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण दिने महासचिव खड्काले जानकारी दिए । उनका अनुसार सुवास केसी, राजन मगर, भगवती राना, हेम गुरुङ, सुरज विक, विनय श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । प्रशिक्षणलाई धरान उपमहानगरपालिकाले संयोजन गरेको छ भने रियो जुसले मुख्य प्रायोजन गरेको क्लबले जनाएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































