धरान: एन्फाका केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले प्रदेश सरकारले उपलब्ध गराएको एक करोड रुपैयाबाट एक पैसा पनि दुरुपयोग नहुने बताएका छन् ।
मंगलबार धरान १६ स्थित रंगशाला मुख्यमन्त्री कप प्रदेश लिगअन्र्तगत क्षेत्र २ को खेल उद्घाटन समारोहमा बोल्दै प्रवक्ता राईले बजेट दुरुपयोग नहुने प्रतिवद्धता जनाएका हुन् । प्रदेश लिग प्रतियोगिताको संयोजकसमेत रहेका राईले असारे योजनामा झारो टार्ने काम गरेर बजेट सक्ने गलत प्रवृत्तिको अन्त्य गर्नकै लागि एन्फाले लिग प्रतियोगिता आयोजना गरेको पनि दाबी गरे । ‘हामीलाई पनि असारे झारो टार्ने काम गरेर बजेट सक्ने गरेको जस्तै गरी जोडियो, तर हामी त्यस्तो होइनौं । त्यो गलत प्रवृत्ति तोड्नकै लागि आयोजना गरेका हौं, एक एक पैसा सही ठाउँमा खर्च गछौं,’खर्चको विवरण पेश गर्दै उनले भने,‘अहिले सम्म यस्तो प्रतियोगिता भएको थिएन, ग्रास रुटमा नेपाली फुटबलको विकासको लागि यो ऐतिहासिक कदम हो, बजेट सदुपयोग हुन्छ ।’
प्रवक्ता राईले एक करोड बजेटबाट नै १४ जिल्लालाई धरान, गाइघाट र इलाम गरी ३ क्षेत्रमा विभाजन गरेर लिग छनौट प्रतियोगिता आयोजना भइरहेको बताए । लिगमा सहभागी जिल्लाका खेलाडी र अफिसियलहरुलाई दैनिक एक हजार भत्ता स्वरुप ३३ लाख विनियोजना गरिएको उनले जानकारी दिए । यस्तै, गाइघाट, इलाम, धरान र विराटनगरमा हुने प्रतियोगिताको उद्घाटन, समापन समारोहलगायत कार्यहरुको लागि ३ लाखको दरले बजेट दिइएको प्रतियोगिताका संयोजक समेत रहेका राईले खुलाए । यस्तै, १४ जिल्लाको टिमलाई तयारी स्वरुप ५० हजारको दरले एन्फाले ७ लाख उपलब्ध गराएको थियो भने प्रत्येक टिमलाई फुटबल, टि सर्टलगायतको लागि ७ लाख बजेट छुट्याइएको राईले बताए ।

यस्तै, रेफ्री र अफिसियलको लागि ४ ठाउँको खर्च १० लाख, पदाधिकारीहरुलाई यातायातलगायत खर्चमा ५ लाख, अतिथि सत्कारलगायतमा ३ लाख, आकस्मिक कोषमा ५ लाख विनियोजन गरिएको उनले खुलाए । पुरस्कारको कुल राशी २० लाख छुट्याइएकोमा लिग विजेताले ५ लाख र उपविजताले ३ लाख पाउनेछ । यस्तै, सुद्ध चाँदीको करिब ५ केजीको रनिङ ट्रफीमा पनि खर्च हुने उनले बताए । ‘आर्थिकरुपमा पारदर्शीता कायम गरेका छांै, असारमा बजेट ल्यायो र लुटीखायो भन्ने सोच, प्रवत्तिलाई ध्वस्त बनाउदैछौं,’प्रवक्ता राईले भने,‘यो प्रतियोगिताले व्यवसायिक फुटबल क्लबहरु बन्नलाई र नयाँ खेलाडी प्रतिभा उत्पादनमा पनि योगदान पुग्छ ।’ प्रदेश लिगले खेलाडीहरुलाई संघीयताको पनि अनुभूति गराउने उनले बताए ।


































































