धरान(डेस्क): राजनैतिक दलहरुबीचमा सहमति जुट्न नसकेपछि प्रदेश नं १ को राजधानीको लागि ४ वटा प्रस्ताव दर्ता भएको छ । आज संसदमा ४ वटा प्रस्ताव दर्ता भएपनि धरानलाई राजधानी बनाउन भने कसैले पनि प्रस्ताव दर्ता गराएनन् ।

धरानबासीहरुले धरानलाई राजधानी घोषणा गर्न माग गर्दै आज विराटनगरमा संसद भवन अघि सिठी जुलुस र नाराबाजी मात्र गरेनन्, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, संसदीय दलका नेताहरुलाई पनि ज्ञापन पत्र बुझाए । तर, आज संसदमा भने कोही पनि सांसदले धरानलाई राजधानीको प्रस्ताव दर्ता गराएनन् । राजधानीको लागि ४ वटा प्रस्ताव दर्ता हुदा त्यसमा धरान परेन । बरु पार्टी निर्णयविपरीत धनकुटाका नेकपा र कांग्रेसका सांसदहरुले छुट्टा छुट्टै धनकुटालाई राजधानीको प्रस्ताव दर्ता गरे । धरानको प्रस्ताव भने दर्ता भएन । 

प्रदेशमा धरान क्षेत्रबाट थुप्रै सांसदहरु छन् । प्रदेशमा प्रत्यक्ष निवार्चित भएका सांसद प्रदीपकुमार भण्डारी अहिले सभामुख छन् भने अर्का सांसद भीम आचार्य नेकपाका प्रदेश इञ्चार्ज नै छन् । यस्तै, समानुपातिकबाट सांसद बनेकी नेकपाकी उमिता वराइली, सावित्री जोशी र नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठ(डिआइजी) पनि छन् । तर, आज धरानलाई राजधानीको प्रस्ताव दर्ता भने भएन । नेकपाकी सांसद उमिता वराइलीका अनुसार एक जना समर्थक सांसद नभेटिएकोले धरानको प्रस्ताव दर्ता हुन नसकेको हो । ‘म प्रस्ताव र सावित्री जोशी समर्थक भयौ, तर अर्को एक जना समर्थक माननीय भेटिएन, र आज धरानको प्रस्ताव दर्ता गर्न सकेनौ,’उनले भनिन्,‘अब संशोधन प्रस्ताव हाल्छौं ।’

नेकपा र कांग्रेसको छुट्टा छुट्टै प्रस्ताव दर्ता

raajdhani

मुख्यमन्त्रीको आह्वानमा सर्वदलीय वैठक भएपनि सहमति नजुटेपछि नेकपा र नेपाली कांग्रेसले छुट्टा छुट्टै राजधानीको प्रस्ताव दर्ता गराएको छ । सर्वदलीय बैठकपछि बसेको नेकपाको संसदीय दलले नेकपाले प्रदेश १ को संवैधानिक राजधानी विराटनगर महानगरपालिकामा रहने प्रस्ताव दर्ता गराएको छ भने राजधानीको संरचनाहरु वृहत विराट क्षेत्र विकासअन्र्तगत विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासको क्षेत्रमा रहने प्रस्ताव दर्ता गराउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार प्रस्ताव दर्ता भएको नेकपाकी सांसद उमिता वराइलीले जानकारी दिए । संसदमा दुई तिहाई बहुमत रहेको नेकपाका सांसदहरुले पार्टी निर्णय विपरीत मतदान गर्ने न्युन सम्भावना भएकोले यो प्रस्ताव पारित हुने बताइएको छ ।यस्तै, सर्वदलीय बैठकमा सहमति नजुटेपछि नेपाली कांग्रेसले पनि राजधानीको अलग्गै प्रस्ताव दर्ता गरेको छ । कांग्रेसले संसदमा प्रदेशको राजधानी विराटनगर रहने प्रस्ताव दर्ता गरेको छ । कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाका अनुसार सहमतिको नाममा नेकपा र सरकारले झुक्याउने, अलमलाउने मात्र काम गरेकोले बैठकमा सहमति नजुटेको आरोप लगाए ।

‘वृहत विराट क्षेत्रको प्रस्ताव दर्ता गर्दा राजधानीको लागि होइन भने, अहिले राजधानीलाई छरपष्ट बनाउने प्रस्ताव गरेकोले कुरा मिलेन,’कांग्रेस नेता कोइरालाले भने । यस्तै, नेकपा र कांग्रेसबाहेक संसदमा आज धनकुटालाई राजधानी बनाउन पनि थप २ वटा प्रस्ताव दर्ता भएको छ । धनकुटाको लागि धनकुटाका नेपाली कांग्रेस र नेकपाका सांसदहरुले छुट्टा छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।