धरान: प्रदेश १ को राजधानीको लागि २० बिघा जमिन उपलब्ध गराउने घोषणासहित धरानका राजनीतिक दल र नागरिक समाजसहितको सर्वपक्षीय टोलीले सभामुख, मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
धरानको टोलीले राजधानीको लागि उपलब्ध गराउने भनिएको जग्गाको धनीपुर्जाको फोटोकपीसमेत सबैलाई बुझाएको छ । प्रदेशको स्थायी राजधानी धरान घोषणा गर्दा धजीपुर्जा बुझाइएको क्षेत्रमा राजधानीको लागि आवश्यक संरचना बनाउन सकिने धरानको दाबी छ । आज प्रदेशसभामा प्रदेशको राजधानी घोषणा गर्न प्रस्ताव दर्ता हुदैछ ।

धरानको टोलीले प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीको कार्यकक्षमा सभामुख भण्डारीसहित प्रदेशका मन्त्रीहरुलाई पनि ज्ञापनपत्र बुझाएको थियो । सभामुख भण्डारीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, अर्थ मन्त्री इन्द्र आङ्बो, पर्यटन मन्त्री जगदीश कुसियैत र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई पनि छुट्टा छुट्टै ज्ञापन पत्र बुझाइएको थियो । यस्तै, प्रदेश प्रमुख डा.गोविन्द सुब्बा, नेकपाका संसदीय दलको उपनेता टंक आङबुहाङ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालालाई पनि ज्ञापन पत्र बुझाएको थियो । धरानबासीको तर्फबाट कार्यवाहक प्रमुख मञ्जु भण्डारीले धनपुर्जाको फोटोकपीसहित ज्ञापन पत्र बुझाइन् । उनले धरानमा जग्गा र भौतिक संरचना पनि पर्याप्त भएकोले राजधानी धरानलाई घोषणा गर्न माग गरिन् ।

ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले आफु पनि माध्यम भएको उल्लेख गर्दै इमान्दारिताका साथ धरानबासीहरुको माग राख्ने बताए । कानुन मन्त्री कार्कीले पनि ज्ञापन पत्र बुझ्दै धरानमा राजधानी आए पनि र नआएपनि विकासको तीब्र गतिमा अघि बढीरहेको भन्दै कुनै मन्त्रालय ल्याउन नआएपनि महत्वपुर्ण संरचनासहित विकास निर्माण हुने बताए ।
धरानले प्रदेश राजधानीको लागि सप्तरंगी पार्क क्षेत्र र एन्फा टेक्निकल सेन्टर उत्तर साकेला पार्क दक्षिण बीचको करिब २० बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यो क्षेत्रमा प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालयहरु एकै ठाउँमा निर्माण गर्न सकिने उपमहानगरपालिकाको भनाई छ ।









































































