धरान(डेस्क):प्रदेश १ को नाम र राजधानीको बिषयमा सहमति जुटाउन विराटनगरमा सर्वदलीय बैठकको तयारी भएको छ ।
संसदमा प्रस्ताव दर्ता गर्ने समय आज अन्तिम दिन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका हुन् । संसदमा दुई तिहाई बहुमत भएको नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्नुअघि मुुख्यमन्त्री राईले सर्वदलीय बैठक डाँकेका हुन् । सर्वदलीय बैठक पछि दुवै पार्टीको संसदीय दलले आवश्यक निर्णय गर्नेछ । दुवै पार्टीको संसदीय दलको बैठक ११ बजे बोलाइएको थियो । तर, मुख्यमन्त्रीले त्यसअघि नै सर्वदलीय बैठक बोलाएको प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले जानकारी दिए । उनले भने,‘हामीले पनि ११ बजे संसदीय दलको बैठक राखेका थियौ, तर मुख्यमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकोले म त्यता जादैछु ।’
मुख्यमन्त्री राईका प्रेस सल्लाहकर ध्रुव सुवेदीले पनि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । ‘अहिले सर्वदलीय बैठक बस्नेत तयारी भइरहेको छ, त्यसपछि संसदीय दलको बैठक बसेर प्रस्ताव दर्ताको निर्णय हुन्छ,’उनले भने । प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता कोइरालाले नेकपा र मुख्यमन्त्रीको धारणा सुनेपछि पार्टीले निर्णय गर्ने बताए । प्रदेश राजधानी र नाम एकै पटक प्रस्ताव लगेर टुंग्याउनुपर्ने नेपाली कांग्रेसको धारणा भएको पनि उनले बताए । ‘अहिलेसम्म २ वटै एजेण्डालाई एकै पटक प्रस्ताव लगेर टुंगो लगाउनुपर्छ भन्ने हो, हामीसँग संसदमा संख्या पनि कम छ,’उनले भने,‘उहाँको धारणा सुन्छौ, अनि निर्णय गरौला ।’
राजधानीको सन्दर्भमा पनि नेता कोइरालाले वृहत विराट क्षेत्रको विधेयक संसदमा ल्याउदा कानुन मन्त्रीले राजधानी विकेन्द्रीकरण गर्न होइन भनेर प्रतिवद्धता जनाएकोले संरचना छरपष्ट पार्छ भन्ने नलिएको पनि उनले बताए । ‘विधेयक आउदा नै राजधानीको लागि होइन भनिएको थियो, त्यसबारेमा पनि छलफल हुन्छ,’कोइरालाले भने ।
शीर्ष नेता बिग होटलमा
मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाउनुअघि नेकपाका शीर्ष नेताहरु विग होटलमा छलफलमा बसेका छन् । छलफलमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीसहित नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्य, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राई(हिमाल) छन् ।
राजधानीलाई विराटनगरबाट विकेन्द्रीत गर्न लागेको भन्दै संसद चल्न नदिने हल्ला चलेपछि शीर्ष नेताहरुको बैठक बसेको हो । ‘कांग्रेसले सदन चल्न नदिने हल्ला व्यापक छ, त्यसैले पनि बैठक बसेको हुनुपर्छ,’नेकपा स्रोतले भन्यो । यता, कांग्रेसका संसदीय दलका नेता कोइरालाले भने त्यो हल्ला मात्र भएको बताए । ‘त्यो हल्ला सत्य होइन, सर्वदलीय बैठक पछि मात्र संसदीय दलको बैठक बस्छ, त्यस्तो योजना केही छैन,’कोइरालाले भने ।








































































