धरान(डेस्क): काममा लगाइदिने आश्वासन दिएर आफ्नै दिदीसमेतलाई भारतको दिल्ली लैजादै गर्दा भारतीय सिमा सुरक्षा वल(एसएसबी)ले एक दलाल महिलासहित ३ नेपाली महिला पक्राउ गरेको छ ।

घर, परिवारलाई समेत जानकारी नदिई सुनसरीको भन्टाबारी नाकाबाट सिमा कटाएर दिल्ली लैजान बसमा चढिसकेको अवस्थामा एसएसबी टोलीले उनीहरुलाई बिहिबार पक्राउ गरेको हो । दलाल महिलासहित पक्राउ परेका ३ नेपाली महिला हाल भारतको बिहार राज्यको सुपौल जिल्लास्थित भीमनगरमा एसएसबीको नियन्त्रणमा रहेका थिए । बिहान करिब ११ बजे पक्राउ परेका उनीहरु दिनभर एसएबीको नियन्त्रणमा थिए । कानुनी प्रक्रिया पुरा गरेर एसएसबीले राती ९ बजे मात्र सशस्त्र प्रहरी र अधिकारकर्मीको जिम्मा लगाएको छ ।

उनीहरुलाई भण्टावारीस्थित अधिकारकर्मी सिवेन्द्र कर्ण र सशस्त्र प्रहरीको आग्रहमा एसएसबीले पक्राउ गरेको थियो । शंका लागेर एसएसबीलाई आग्रह गरेर सोधपुछ गर्दा परिवारलाई जानकारी नै नदिई काम लगाइदिने प्रलोभनमा दिल्ली जादै गरेको खुलेको अधिकारकर्मी कर्णले बताए । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरीकी २४ बर्षीय राधिका मगर, मोरङकै सुन्दरहरैचाकी २३ बर्षीय रेखाकुमारी खवास र मोरङको केरौनकी ३३ बर्षीय घनिन्द्र कुमारी मगर छिन् ।

ssb, 1

उनीहरुमध्ये राधिकाले रेखा र घनिन्द्रलाई काम दिलाउने प्रलोभन देखाएर दिल्ली लैजादै गरेका थिए । राधिकाले आफ्नै भेनाजुलाई पनि थाहै नदिई दिदी घनिन्द्रलाई दिल्ली लैजादै गरेका थिए । ‘राधिकाले काम लगाइदिने प्रलोभन देखाएर फकाएर दिल्ली लैजादै गरेका रहेछन् । दिदीको परिवार, भेनालाई पनि दिल्ली जादै गरेको थाह थिएन,’अधिकारकर्मी कर्णले भने,‘सिमा कटिसकेर शंका लागेकोले सशस्त्र प्रहरी र मैले एसएसबीलाई आग्रह गरेपछि उनीहरु नियन्त्रणमा लिइएको थियो ।’

अधिकारकर्मी कर्णका अनुसार उनीहरु भिमनगरबाट दिल्ली जाने बसमा चढीसकेका थिए । एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा परिवारलाई थाहै नदिई दिल्ली हिडेको खुल्यो । मुख्य दलाल राधिकाले भारतीयसँग तेस्रो विवाह गरेर बसेको पनि खुल्यो । ‘अहिलेसम्म तीनै जनालाई एसएसबीले सशस्त्र र मेरो जिम्मा लगाएको छ,’कर्णले भने,‘घटनाक्रम हेर्दा बेच्नकै लागि लगेको भन्ने देखिन्छ । हामी पनि आवश्यक प्रक्रियाबाट जिल्ला प्रहरीमा बुझाउछौ ।’

 

55576841_2137462423010354_8 56319206_640204649764750_17 56226048_843599955984398_18