विराटनगरः लामो समयपछि प्रदेश १ को प्रदेश सभाको बिषयगत समितिको नेतृत्व चयनको प्रक्रिया शुरु भएको छ ।

दलहरुबीचमा भागवण्डा मिलेपछि चैत २२ गते शुक्रबारलाई बिषयत समितिको सभापति पदको लागि निर्वाचन गर्ने सहमति जुटेको थियो । सोही सहमति अनुसार आज सभापति चयनको लागि मनोनयन दर्ता भएको छ । निर्वाचन भोली शुक्रबार हुनेछ । प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम बिषयगत समितिको सभापतिको प्रकाशित निर्वाचन कार्यक्रम अनुसार आज नामावली दर्ताको समयावधि तोकिएको थियो । प्रदेश सभा सचिवालयले आज सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार संसदको ७ वटा समितिमा सभापति पदको लागि मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता सर्वसम्मतरुपमा भएको छ ।

यसअघि, संसदको विभिन्न ७ वटा समितिमध्ये ६ वटा नेकपालाई र एउटा प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने सहमति थियो । कांग्रेसले सार्वजनिक लेखा समिति पाएको थियो । नेकपाभित्र पनि ४ वटा साविक एमाले र २ वटा साविक माओवादीले भागवण्डा गरेको छ । सोही भागवण्डा अनुसार नै बिहिबार संसदीय समितिको सभापतिमा दलहरुले मनोनयन दर्ता गराएको छ । प्रदेशसभा सचिवालयका अनुसार न्याय, प्रशासन तथा विधायन समितिमा सांसद इन्द्रमणि पराजुलीले मनोनयन दर्ता गरेका छन् भने सुशासन तथा योजना समितिमा अर्जुन राईले मनोनयन दर्ता गराएका छन् ।

sava

यस्तै, अर्थ समितिमा मोहनकुमार खड्का, सामाजिक विकास समितिमा सरिता थापाको मनोनयन छ । यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिमा सीता थेबे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवाको मनोनयन भएको प्रदेश सभा सचिवालयका सचिव तथा मुख्य निर्वाचन अधिकृत अम्बिकाप्रसाद चौलागाईले जानकारी दिए । अर्थ समितिका खड्का र उद्योग, पर्यटन तथा वातावरण समितिका थेवे साविक माओवादीबाट हुन् । साँवा, थापा, पराजुली र राई साविक एमालेबाट हुन् । कांग्रेसको भागमा परेको सार्वजनिक लेखा समितिमा शिवनारायण गनगाईले मनोनयन दर्ता गरेका छन् ।