सप्तरी: प्रदेश नं २ मा एसईई परीक्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको घटनामा प्रहरीले दुई प्रहरी र एक शिक्षकसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । यो प्रकरणमा पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका १० का २८ वर्षीय विश्वुदेव यादव, २२ वर्षीय ब्रह्मदेव सुनरैत, वडा नं १६ का २८ वर्षीय मनोज यादव छन् । यस्तै, हनुमाननगर कंकालिनी नगरपालिका १ का १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र कञ्चनरुप नगरपालिका ६ का २५ वर्षीय दिपेन्द्रकुमार मण्डल छन् । पक्राउ परेकामध्ये ब्रह्मदेव र दिपेन्द्र नेपाल प्रहरीका जागिरे हुन् । मनोज शिक्षक हुन् भने राजेश र उमेश परीक्षार्थी हुन् ।

चैत १४ र १५ गते हुने भनिएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो । सामाजिक सञ्जाल हुदै विभिन्न सञ्चारमाध्यमबाट प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को परीक्षा नै स्थगित भएको थियो । घटनालाई गम्भीरतापुर्वक लिदै प्रदेश सरकार र प्रहरीले पनि अनुसन्धान थालेको थियो । सिआइबीले परीक्षार्थीहरुबाट नै अनुसन्धान थालेर घटनाको जडसम्म पुग्न सफल भएको हो ।

SEE_question_out_arrest

अनुसन्धान गर्ने क्रममा प्रश्न पत्र प्रहरी जवानबाट विष्णुदेव हुदै आउट भएको खुल्यो । प्रहरी जवान ब्रह्मदेव सुनरैत र दिपेन्द्र कुमारले सिल गरिएको पोको च्यातेर प्रश्नपत्र आउट गरेको अनुसन्धानबाट देखिएको छ । ब्रह्मदेवले आफ्ना दाई विष्णुदेवलाई प्रश्नपत्रको फोटो खिचेर मोवाइल एप इमो मार्फत पठाएका थिए । विष्णुदेवले उक्त फोटो शिक्षक मनोजलाई पठाए । मनोजले पैसा लिएर विद्यार्थी र अभिभावकहरुलाई समेत प्रश्नपत्र पठाएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानको क्रममा पक्राउ परेपछि विष्णुदेवले पनि भाइ ब्रह्मदेवले नै विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र पठाएको वयान दिएको प्रहरीले जनाएको छ ।