सुनसरी: समुदाय प्रहरी साझेदारी जिल्ला समितिको आयोजनामा दुव्र्यसनविरुद्धको अभियान(फ्यान) चेतनामुलक प्रशिक्षण तथा सृर्जनात्मक लेखन अभ्यास कार्यक्रम पहिलो चरणमा जिल्लाका विभिन्न डेढ दर्जन स्कुलहरुमा सम्पन्न भएको छ ।
फाइट अगेन्स्ट नार्कोटिस(फ्यान) कार्यसम्पादन समितिमा संयोजक जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुँयाल छन् । फुँयालको संयोजकत्वमा गठन भएको समितिले पहिलो चरणमा विभिन्न १६ वटा स्कुलमा ११/ ११ जना विद्यार्थीहरु रहेको फ्यान क्लब गठन गरेको जानकारी दिएको छ । ती विद्यालयहरुमा विद्यार्थी, प्रअसमेतलाई कार्य सम्पादन समितिले लागुऔषधबाट बच्ने उपाय, लागुऔषधबाट हुने हानी, प्रयोग तथा बिक्रीवितरण गरेमा हुने कानुनी कारबाहीको प्रावधानलगायत बिषयमा प्रशिक्षण दिएको थियो ।
चैत १४ गते इटहरी १२ खनार स्थित शारदा माविबाट साताव्यापी प्रशिक्षण कार्यक्रम अभियान शुरुवात भएको थियो । प्रशिक्षणमा सहायक प्रजिअ ध्रुवबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारी, डिएसपी फुँयाल, प्रहरी निरीक्षक जीवन तामाङ, सई शिवकुमार शर्मासमेत प्रशिक्षण कार्यक्रममा खटिएका थिए । सुनसरीका १२ स्थानीय तहमध्ये पहिलो चरणमा दुहबी नगरपालिकाको एक, इटहरी उपमहानगरपालिकाको २, धरान उपमहानगरपालिकाको ४, इनरुवा नगरको ३, रामधुनी नगरपालिकाको २, बराहक्षेत्र नगरपालिकाको ३ र कोशी गाउँपालिकाको एक विद्यालय छनौट गरेर अभियान सञ्चालन गरिएको थियो ।
अभियान चैत २० गते धरानस्थित नेपाल प्रहरी स्कुलको सभाहलमा धरानका ३ वटा स्कुलका विद्यार्थीहरुलाई संयुक्त प्रशिक्षण दिएर समापन गरिएको थियो । उक्त कार्यक्रममा कियाचु पुनर्जिवन केन्द्रकय परामर्शदाता पर्वत राईले आफु दुव्र्यसनी हुदाको अवस्था, पीडाबारे विद्यार्थीहरुलाई अनुभव बाँडेका थिए । अभिमुखीकरण कार्यक्रम पश्चात पहिलो चरणमा आफ्ना विद्यालयलाई दुव्र्यसनमुक्त विद्यालय घोषणा गर्ने साथै प्रत्येक घरमा दुव्र्यसनरहित घर अंकित स्टिकर टाँस गरेर दुव्र्यसनमुक्त घर घोषणा गरिने प्रशिक्षणमा संलग्न विद्यार्थी तथा प्रअहरुले प्रतिवद्धतासमेत जनाएको डिएसपी फुँयालले जानकारी दिए । अभियान अवधिभर १६ विद्यालयका १ सय ७६ जना फ्यान क्लबका विद्यार्थी र १६ जना प्रअसहित कुल १ सय ९२ जनाले प्रशिक्षण पाएको डिएसपी फुँयालले जानकारी दिए ।








































































