धरान:प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत धरानमा रहेको अदुवा बेसार जोन कार्यालयले अनुदानको अदुवाको बिउ कमसल दिएको गुनासो गरेका छन् ।
धरानको वडा नं २०, विष्णुपादुका(कोकाहा)का किसानहरुले जोन कार्यालयले पठाएको ८ क्विन्टल ४० किलो अदुवाको बिउ गुणस्तरहिन दिएको भन्दै फिर्ता पठाइदिएको पाइएको छ । जोन कार्यालयले ५० प्रतिशत अनुदानमा कोकाहा बहुउद्देश्यीय कृषक समुहलाई ८ क्विन्टल ४० किलो अदुवाको बिउ र ४० किलो बेसारसमेत मंगलबार पठाएको थियो । तर, कृषकहरुले जोन कार्यालयले पठाएको बिउ कुहिएको र कामै नलाग्ने भन्दै हिजो बुधबार फिर्ता पठाइदिएका थिए । किसानहरुले आफ्नो लागत फिर्ता दिनसमेत माग गरेपनि जोन कार्यालयले राम्रो अदुवा बिउ पठाइदिने आश्वासन दिएपछि कृषकहरु फर्किएका थिए ।
कोकाहा बहुउद्देश्यीय कृषक समुहका अध्यक्ष मानसिं तामाङले जोन कार्यालयबाट मसिनो, कुहिएको र बिउमा काम नलाग्ने खालको अदुवा पठाएकोले फिर्ता गरेको बताए । ‘हामी पहिलादेखि नै अदुवा रोप्ने किसान हो, कस्तो बिउ अदुवा काम लाग्छ भन्ने थाह छ,’उनले भने,‘उपचार गरेर रोप्नुपर्छ भन्दै थिए, हामीले चै पैसा नै फिर्ता देउ पनि भन्यौ ।’ पछि राम्रो अदुवा पठाइदिने भनेकोले सहमति जनाएर फर्किएको पनि उनले बताए ।

यता अदुवा जोन कार्यालयका बागवानी विकास अधिकृत तिरप्रित सिंहले भने प्राविधिकरुपमा राम्रो अदुवा नै पठाएको तर किसानहरुले परम्परागतरुपमा ठुलो पाना खालकै अदुवा रोप्नुपर्छ भन्ने धारणा भएकोले समस्या भएको बताए । ‘प्राविधिकरुपमा ६० ग्रामको सानो सानो अदुवा बिउ रोप्नुपर्छ, तर किसानहरु ठुलो सिंगै पाना अदुवा नै रोप्नुपर्छ भन्नुहुन्छ,’उनले भने,‘हामीले पठाएको अदुवा कुहिएको होइन, समस्या छैन । अरुतिर नि यही पठाइरहेकै छौ ।’ उनले कोकाहाका किसानहरुले रोजेकै अदुवाको बिउ पठाइदिने पनि बताए ।
अदुवा जोन सञ्चालक समितिका अध्यक्ष सुर्दसन श्रेष्ठले कुहिएको वा गुणस्तरहिन अदुवा नभै ग्रेडिङ नगरी पठाउदा किसानलाई त्यस्तो लागेको बताए । अहिले ज्यालादारीमा बिउ अदुवाको ग्रेडिङ गर्ने काम भइरहेको भन्दै उनले राम्रो अदुवाको बिउ छानेर नै किसानलाई दिइने बताए । ‘छानेर, ग्रोडिङ गरेर मात्र पठाउनुपर्छ है भनेका थियौ, कर्मचारीले त्यतिकै हतारमा पठाइदिएछ, र समस्या भएको हो,’श्रेष्ठले भने,‘कुहिएको कमसल अदुवा होइन, अहिले ग्रेडिङ गर्ने काम भइरहेको छ ।’ अदुवाको बिउ प्रतिकिलो १ सय १० रुपैयाको दरले किसान समुहलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउदै आएको छ । कोकाहा समुहका किसानहरुले प्रतिकिलो ५५ रुपैयाको दर(५० प्रतिशत)ले हिसाब गरेर ५१ हजार २ सय अदुवाको लागि तिरेका थिए भने बेसारको बिउको लागि ८ सय रुपैया तिरेका थिए ।








































































