धरान(डेस्क):प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुबीच बालुवाटारमा संयुक्त छलफल भएको छ ।

मुख्यमन्त्रीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । आज बिहान प्रधानमन्त्रीसँग भएको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी भएका थिए । मुख्यमन्त्रीहरु हिजोदेखि शुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा सहभागी हुन राजधानीमा छन् । सोही क्रममा आज बिहान प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच संयुक्त छलफल भएको हो ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताए । “कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ,”प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने पनि बताएका थिए । प्रधानमन्त्री ओलीले हावाहुरी पीडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।