धरान: महिला नेतृ एवं १ नं प्रदेश सभाकी सदस्य उमिता बराइलीले अब सबै संघसंस्था र राजनीतिक दलमा महिलाहरुले पनि बराबरी हिस्सा पाउनुपर्ने आवाज उठाउने बेला भएको बताएकी छिन् ।
१०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसकये अवसरमा शुक्रबार महिला सञ्जाल धरानले भानुचोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेतृ बराइलीले महिलाप्रतिको विभेदकै कारण गएको निर्वाचनमा प्रमुख कार्यकारी पदमा महिलाले टिकट पाउन नसकेको पनि बताइन् । स्थानीय तहमा महिलाहरुलाई उपप्रमुख, उपाध्यक्षमा सिमित राखेको र संघ, प्रदेशमा समानुपातिका राखेको भन्दै उनले असन्तुष्टी प्रकट गरिन् । महिलामैत्री संविधान, कानुन कार्यान्वयन गर्न घर, राजनीतिक दल, समाजबाट जुद्नुपर्छ,नेतृ बराइलीले भनिन्,‘गएको चुनावमा प्रत्यक्षमा टिकट पाउनै गाह्रो भयो, अबको ५ बर्षमा टिकट पाउने कि नपाउने ? प्रमुखको जिम्मेवारी लिने कि नलिने ?’
प्रत्यक्षको टिकट र प्रमुख कार्यकारी पदको जिम्मेवारी पाउन महिलाहरु चनाखो भएर लड्नुपर्ने सांसद बराइलीले आह्वान गरिन् । उनले भनिन्,‘अबको ५ बर्षपछि महिलाले मेयरमा टिकट पाउने कि नपाउने ? सभामुख हुन पाउने कि नपाउने ?’


































































