धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कर्मचारीहरुको एक खेमाले उपकुलपति डा.राजकुमार रौनियारलाई बर्खास्त गरेकोप्रति तीब्र असन्तुष्टी प्रकट गरेका छन् ।
कर्मचारी कल्याण समाज तदर्थ समितिले उपकुलपति रौनियारलाई बर्खास्त गरेर पुर्वउपकुलपति र अन्य पदाधिकारीहरुलाई अनियमितताबाट जोगाएको आरोप लगाएको छ । गएको शुक्रबार स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको ४२ औं बिशेष सिनेट बैठकले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । ‘वीपीको २५ बर्षको इतिहासमा यो पहिलो पटक दुःखद घटना भयो, मन्त्रीको एकल निर्णयबाट भएको भन्ने सुन्यौ,’तदर्थ समितिका संयोजक राजन कोइरालाले भने,‘यो निर्णय गलत छ, भ्रष्टचारमा डुबेकाहरुलाई जोगाएर निर्दोष मान्छेलाई कारबाही भयो, प्रधानमन्त्री ज्यूले सही निर्णय लिनुहुन्छ भन्ने आशा, आग्रह छ ।’
वीपीमा कार्यरत कर्मचारीहरु लामो समयदेखि नै २ समुहमा विभाजित छन् । आधिकारिक संगठन कर्मचारी कल्याण समाज पुर्वउपकुलपति डा.वीपी दास निकट मानिन्छ भने तदर्थ समिति वर्तमान उपकुलपति रौनियार निकट मानिन्छ । तदर्थ समितिले यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी संयोजक रहेको प्रतिवेदनलाई लुकाएर दोषी पदाधिकारीलाई जोगाउने खेल भएको पनि जनाएको छ । ‘त्यो प्रतिवेदन किन लुकाइयो ? भ्रष्टाचार नै गरेको हो भने अख्तियार छ, त्यहाँबाट पो कारबाही गर्ने हो त,’संयोजक कोइरालाले भने,‘जो भ्रष्टचारमा संलग्न छन्, उनीहरुले नै बनाएको प्रतिवेदन कसरी मान्य हुन्छ ?’
आन्दोलन गर्ने मुडमा तदर्थ समिति
सिनेट बैठकको निर्णयको माइन्युट लेखिसकेपछि अनुमोदनको लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्माओली समक्ष पुग्छ । उनले हस्ताक्षर गरेपछि औपचारिकरुपमा उपकुलपति बर्खास्तको सिनेटको निर्णय लागु हुन्छ । तदर्थ समितिले प्रधानमन्त्रीलाई विवेकपुर्ण निर्णय लिन आग्रह गरेको छ ।
सिनेट निर्णय अनुमोदन गरेमा के गर्ने ? कर्मचारी तदर्थ समितिका संयोजक कोइराला भन्छन्,‘विगतमा हामीले आमरण अनसनसम्मको आन्दोलन गरेका थियौ, यसपटक पनि न्यायको लागि त्यो हदसम्मको आन्दोलनमा पनि जानसक्छौ ।’ यद्यपी उनले सिनेटको निर्णय नआएसम्म पर्ख र हेरको अवस्थामा रहने बताए । ‘सही निर्णय भएन भने यहाँ उत्पन्न जेजस्तो परिस्थित बन्छ, त्यसको जिम्मा स्वास्थ्यमन्त्री र सरकारले लिनुपर्छ,’उनले भने ।
प्रतिष्ठानको ४१ औं सिनेट बैठकले एमसिएच, अंकोलोजी, कार्डियोलोजी र एनएफआरएसको बिषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय वमोजिम सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाए पनि त्यो अहिलेसम्म गुपचुप राखिएको छ । प्रधानमन्त्री ओलीले पुनः स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा अर्को छानबिन समिति गठन गरेका थिए । उक्त समितिमा प्रतिष्ठानकै रेक्टर डा.गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सदस्य थिए । प्रतिष्ठानकै पदाधिकारी र एमसिएच, एनएफआरएसजस्ता बिषयमा संलग्न समितिले गरेको छानबिन प्रतिवेदन पुर्वाग्रही हुने भन्दै उपकुलपति रौनियारले विरोध जनाउदै आएका थिए ।








































































