धरान: किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र शुरु भएको छ ।
धरान–८ स्थित सभागृहमा केहीबेर अघि यायोक्खाको महाधिवेशनको बन्दसत्र शुरु भएको हो । महाधिवेशनको हिजो शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भानुचोकमा उद्घाटन गरेका थिए । आज दिउँसोदेखि शुरु भएको बन्दसत्रको पहिलो दिन प्रत्येक जिल्ला, भाषिक, भातृसंस्था र विदेश शाखाहरुको प्रतिवेदन पेश गर्ने कार्य भइरहेको यायोक्खाका केन्द्रीय सदस्य श्रीशिशा राईले जानकारी दिए । उनका केन्द्रीय समितिको पनि ५ वटा प्रतिवेदन प्रस्तुत भएर त्यसमाथि छलफल हुनेछ । ‘प्रत्येक जिल्ला, भातृ संस्था, भाषिक र विदेश संगठनहरुको प्रतिवेदन र केन्द्रीय कार्यसमितिको पाँच वटा प्रतिवेदन टेवल गरेर छलफल गछौ,’उनले भने,‘आज भ्याइएन भने भोलीको पनि छलफल हुन्छ, र नेतृत्व चयनको प्रक्रियामा जाने कार्यक्रम छ ।’

महाधिवेशनको मुख्य एजेण्डा प्रदेश १ लाई ‘किरात’ नामाकरण रहेको र केन्द्रले पाँच वटा प्रतिवेदन पेश गर्ने जनाइएको छ । किरात प्रदेश अवधारणा, आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन, विधानसँगै भाषा, संस्कार, संस्कृतिको विषयमा प्रतिवेदन पेश हुने उनले बताए । भाषा, संस्कार, संस्कृतिको प्रतिवेदन किरात प्रज्ञा प्रतिष्ठनले पेश गर्नेछ । भोलीसम्म चल्ने भनिएको महाधिवेशनमा देशभर २६ जिल्ला कार्यसमिति, २८ भाषिक तथा थरगत संस्था, ८ भातृसंगठन, ७ सम्बन्धन संस्था र विभिन्न प्रवास शाखाबाट गरी हजार बढी प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी छन् । महोधवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै घोषणा पत्र समेत जारी गर्ने बताइएको छ । नयाँ कार्यसमिति सहमतिबाटै चयन गर्ने यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।








































































