काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी -नेकपा_का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

नेता अधिकारीको पार्थिव शरीरमा उहाँकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिएको थियो । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि दिए ।

भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुई पटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका थिए । विसं २०४७ पुस २२ गते नेकपा -माक्र्सवादी_ र नेकपा -माले_का बीचमा एकीकरणमा उनले अहम् भूमिका निर्वाह गरे ।नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो । नेता अधिकारीले अर्थमन्त्री हुँदाका समयमा ल्याउनुभएको ‘आफ्नो गाउँ आफँै बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् । रासस