धरान: अत्यधिक मादक पदार्थ सेवन गरेर चलाएको कारले मध्यरातमा मोटरसाइकललाई ठक्कर दिएर घाइते बनाएपछि संघीय युवा फोरमका जिल्ला अध्यक्ष श्री सुब्बा पक्राउ परेका छन् ।

शनिबार राती करिब साढे ११ बजे बगरकोटमा सुब्बाले चलाएको बा ७ प ७६३१ नम्बरको कारले को ९ प १०२९ नम्बरको मोटरसाइकललाई ठक्कार दिएको थियो । ठक्करबाट मोटरसाइकलमा रहेका धरान ५ देउरालीका गौरव राजधामी र धरान १५ का रोहित राई गम्भीर घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । डिएसपी सुमन तिम्सिनाका अनुसार घाइते राजधामीको तीघ्रा भाचिएको छ भने राईको हत्केला खुस्किएको छ । साथै, उनको छातीमा पनि चोट लागेको छ ।

अत्यधिक मादक पदार्थ सेवन गरेर कार चलाउने श्री सुब्बालाई प्रहरीले राती नै पक्राउ गरेको डिएसपी तिम्सिनाले बताए । संघीय समाजवादी फोरमको राजनीतिमा भएपनि सुब्बा विभिन्न विवादमा आइरहन्छन् । उनलाई प्रहरीले गुण्डागर्दीको सुचीमा राखेर उच्च निगरानी पनि गरिरहेको छ । ‘हाम्रो निगरानीमा भएको व्यक्ति हो । घटनालगत्तै पक्राउ परिसकेका छन्,’डिएसपी तिम्सिनाले भने ।

डिएसपी तिम्सिनाका अनुसार सुब्बालाई सवारी अंगभंगअन्र्तगत म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइनेछ । सामान्य अवस्थाको दुर्घटना नभै अत्यधिक मदिरा सेवन गरेर सवारी चलाएको र दुर्घटना पनि गराएको कारण यो मुद्दाअन्र्तगत उनलाई कारबाही प्रक्रिया चलाइने प्रहरीले जनाएको छ । ‘सार्वजनिक ठाउँमा अत्यधिक मदिरा सेवन गरेर सवारी चलाएको र दुर्घटना पनि गराएर अंगभंग पनि गराएकोले सवारी अंगभंगको मुद्दामा म्याद थपको तयारी भइरहेको छ,’उनले भने ।

सुब्बा गत पुष दोस्रो साता पनि पक्राउ परेका थिए । दशै तिहारको रमाइलो मेलामा ढुगामुढा गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार(सार्वजनिक)मा मुद्दा चलाएको थियो । उनी १८ दिनपछि धरौटीमा रिहा भएका थिए ।