धरान : चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो सिजनको पुस ६मा हुँदैछ । यसपटक फाइनल प्रतिष्पर्धामा चार जना छन्, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवि ओड । यि चार मध्ये को बन्ला नेपाल आईडल ? संगीतप्रेमीहरु माझ अहिले यहि चर्चा छ ।

चार प्रतिष्पर्धीका आ आफ्नै विशेषता छन् । पोखराका विक्रम बरालले बारमा गाउन थालेको १७ वर्ष भयो । एसएलसीपछि २०६६ सालतिर उनले पोखराकै त्रिवेणी संगीतालयमा क्लासिकल भोकल पनि सिके । ‘अडियो फार्म’ र प्रोग्रेसिभ मेटल ब्यान्ड ‘साईनाईड’मा पनि गाए । पप, क्लासिकदेखि सुगम संगीतसम्म सुन्ने र रक मेटल बढी गाउँने विक्रम कुनै बेला नविन के भट्टराईलाई खुब सुन्थे । अहिले नारायणगोपाल, गुलाम अली र अरुण थापालाई आफ्ना आइडल गायक मान्छन् । नेपाल आइडलमा गोल्डेन माइक पाएका विक्रम सुनाउँछन् ‘अग्रजहरुबाट सिकेका कुराले यहाँसम्म पुर्यायो ।’

झापाका सुमित पाठकले युट्युबमा हेरेर गिटार बजाउन सिके । नेपाल आइडलमा गोल्डेन माइक विजेता बनेर प्रवेश गरे । ब्राईट स्टार ब्यान्डमा ड्रमर भएर काम गरे । ‘अमेरिका बोइज’ फिल्ममा गीत पनि गाए । झापाको ग्राभिटी ब्यान्डमा गाए । रक, मेटल, सेन्टिमेन्टल, क्लासिक सबै सुन्छन् तर रक र सेन्टिमेन्टल बढी गाउने सुमित नारायण गोपाल, भक्तराज आचार्य, नेपथ्य र १९७४ एडिका गीत धेरै सुन्छन् ।

झापाकै अस्मिता अधिकारी पहिलादेखि भजन गाउँथिन् । स्कुल, कलेजमा गाउदा गाउँदै उनि संगीतमा भिजिन् । बिएस्सी नर्सिङ सकेर आइडलमा आएकी उनि अरुणा लामा, तारादेवी र नारायण गोपालका गीतहरु मन पराउँछिन् । तर अञ्जु पन्तको चाहिं उनि फ्यान नै हुन् । उनलाई फलो गरेर पनि गाउँछिन् ।

धनगढीका रवि ओड सुदुरपश्चिमका एकमात्र प्रतिष्पर्धी हुन् । उनले पनि लामो समय रेष्टुरेन्ट, बार र दोहोरीमा गीत गाए । त्यसैले पनि उनी सबै प्रकारका गीत गाउन सक्छन् । आफ्नो कलाले निर्णायक र स्रोता दर्शकहरुको मन जीत्दै आएका छन् । उनी शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीत मन पराउँछन् र उनिहरुको फलोपनि गर्छन् ।

चारै प्रतिष्पर्धी आआफ्नो ठाउँमा ससक्त छन् । उनीहरु मध्ये फाइनलमा जसले दर्शक स्रोता र निर्णायकको मन जीत्ने प्रस्तुति दिन्छन् उहि विजेता हुन्छन् । निर्णायक न्ह्यू बज्राचार्यले एउटा अन्तरवार्तामा भनेका थिए, ‘आइडल बन्न सुर र ताल मात्र जाने पनि हुँदैन । प्रस्तुति पनि उस्तै दमदार हुनुपर्छ ।’ अब को बन्ला त नेपाल आइडल पुस ६ गतेसम्म कुर्नैै पर्छ ।