धरान:गोरु काटेको आरोपमा धरानमा पक्राउ परेका १० जनाको विनासर्त रिहाइको माग गर्दै संघीय लिम्बुवान मञ्चले विरोध जनाएको छ । सोमबार बिहान पत्रकार सम्मेलन गरेर रिहाईको माग गरेको मञ्चले दिउँसो धरानमा र्यालीसमेत निकालेको थियो ।
संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च जिल्ला कार्यसमिति सुनसरीले प्रहरीले गैरकानुनी ढंगबाट पक्राउ गरेको भन्दै रिहाइको माग गरेको छ । मंसिर २८ गते विहान धरान–१७ को विद्याटोलबाट गोरुको मासु काट्दै गरेको अवस्थामा ५ जना मुस्लिमसहित १० जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो । देश धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको अवस्थामा गोरु काटेको विषयलाई मुद्दाको रुपमा लिइ पक्राउ गर्नुपर्ने कुनै कारण नभएको मञ्चका सुनसरी अध्यक्ष अमर इजमले बताए । यसले एक धर्मको मात्र हाबी भएको संकेत देखाएको उनको भनाई थियो । प्रहरी प्रशासनको यो कदमले व्याक्तिको नैसर्गिक अधिकार कुण्ठीत गर्ने काम गरेको भन्दै उनले आपत्ति प्रकट गरे । ‘जनताको नैसर्गिक अधिकारमाथी राज्यले यसरी दमन गरिनु हुदैन,’अध्यक्ष इजमले भने,‘संविधानमा स्पष्ट रुपमा लेखिएको धर्मनिरपेक्षतालाई कुनै एकल धर्मले हाबी हुनुहुदैन ।’
पत्रकार सम्मेलन गरेको मञ्चले दिउँसो धरानमा विरोध र्याली निकालेको थियो । मुलुकी ऐनको बुँदालाई आधार बनाएर पक्राउ गरिएको विरुद्धमा आफुहरु उभिएको मञ्चका अध्यक्ष इजमले बताए । र्याली भानुचोकमा कोणसभामा परिणत भएपछि सम्बोधन गर्दै नेता इजमले रिहाइ नगरिए कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिए । ‘हामीले प्रहरी प्रशासनसंग निसर्त रिहाइ गर्न अनुरोध गर्दछौ,’ उनले भने,‘रिहाइ नगरेए अन्य राजनीतिक दल, जनजाती संघसंस्थाहरुसंग सहकार्य गरेर कडा रुपमा आन्दोलन गर्न बाध्य हुनेछौं ।’
प्रहरीले गोरु काटेको आरोपमा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिँया, रिजमान मिँया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनि शाही, अनिश शाही र राजेन्द्र खड्गीलाई पक्राउ गरिएको थियो । उनीहरुमाथी पशुपन्छी सम्बन्धी कसुरमा मुद्धा दायर गरी म्याद थप गरी हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



































































