धरान:पिकनिक खाएर फर्कदै गरेको ट्याक्टर उदयपुर जिल्लाको बेलका नगरपालिका ८ मा आइतबार दिउँसो दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये पनि ७ जनाको अवस्था चिन्ताजनक छ । मृत्यु हुनेमा बेलका २, बेलहाकी अन्दाजी १९ बर्षीय विनिता चौधरी, २० बर्षीय इन्द्र चौधरी र २० बर्षीय दिपिका चौधरी रहेका छन् । उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज एवं सई तिलक गिरीले जानकारी दिए । उनले भने,‘घाइतेहरुको उपचार भइरहेको छ, ७ जनाको अवस्था गम्भीर छ ।’

IMG_20181111_200904 copy
पिकनिक खान नयाँ कोशी पुल नजिक आएका उनीहरु फर्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते अधिकांश बालबालिका, किसोरकिसोरीहरु छन् । घाइते प्रेरणा कुमारी चौधरीका अनुसार देउसी खेलेको पैसाले सबै पिकनिक खान आएका थिए । उनीहरु सार्वजनिक युवा क्लबबाट पिकनिक खान आएको प्रेरणाले बताइन् । ‘क्लबबाट देउसी खेलेर पिकनिक खान आएका थियौं, फर्कदै गर्दा मोडमा दुर्घटना भयो,’उनले भनिन् । दुर्घटना भएको स्थान कोशी पुलदेखि करिब डेढ किलोमिटर पश्चिम उदयपुरतर्फ पर्छ । 

अहिले प्रतिष्ठानको आकस्मिक कक्षमा दुर्घटनामा घाइते र मृतकका आफन्तहरुको भीड लागेको छ । अस्पताल परिसरमा मृतकका आफन्त र घाइतेहरुका आफन्तहरुको रुवाबासी छ । घटनाबारे बुझ्न बेलका नगरपालिकाका मेयर दुर्गाबहादुर थापा पनि प्रतिष्ठान आएका छन् ।

IMG_20181111_200938 copy