धरान : धरान-८ सभागृह मार्ग निवासी सुमन विश्वकर्माको अस्पतालमा रोकिएको शव निकाल्न विश्वकर्मा युवा समाज धरानले पहल गरेको छ । समाजले आर्थिक सहयोगसमेत जुटाएर शव अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाएको हो ।
समाजका अध्यक्ष युवराज शंकरका अनुसार सुमन विश्वकर्मा पुस १० गते सुतेकै अवस्थामा मैनबत्तीबाट आगो सल्किँदा गम्भीर रूपमा घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा भर्ना गरिएका विश्वकर्माको पुस १५ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।
अस्पतालको उपचार शुल्क तिर्न नसक्दा शव अस्पतालमै रोकिएको थियो । मृतकका परिवारजन सहयोगका लागि समाजका अध्यक्ष शंकरसमक्ष पुगेपछि समाजले पहल थालेको थियाे । समाजका सदस्यहरूबाट चन्दा संकलन गरी ३३ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष शंकरले जानकारी दिए ।
प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा वर्तमान मन्त्रीहरूसँग समेत समन्वय गरी अस्पतालमा बाँकी प्रक्रिया पूरा गरिएपछि शव निकालेर अन्त्येष्टि सम्पन्न भइसकेको समाजले जनाएको छ ।


































































