धरान : खेलकुदको शहरको पहिचान बनाउँदै आएको धरानमा पछिल्लो समय खेलकुदको नाममा सञ्चालन भइरहेको मेलाले विवाद सिर्जना गरेको छ।

धरान-१६ स्थित रङ्गशालामा मङ्सिर २६ गतेदेखि पुस १० गतेसम्म सञ्चालन भइरहेको उक्त मेला अनुमती शर्त उल्लङ्घन र उपमहानगरपालिकाबाट बजेट विनियोजन गराउँदै सञ्चालन भएको हो।

धरान उपमहानगरपालिकाले मेला सञ्चालनकालागि सहमति जनाउँदै मङ्सिर १ गते जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पत्राचार गरेको थियो। उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्सिर १२ गते ११ बुँदे सर्तसहित मेला सञ्चालनको अनुमति दिएको थियो।

प्रशासनले दिएको ११ बुँदे अनुमति सर्त अनुसार तिर, रेस, घिर्नी रेस, हाउजी, पैसा राखी खेलिने कुनै पनि जुवाजन्य खेल सञ्चालन गर्न नपाइने, मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवन निषेध,सामाजिक विकृति फैलाउने गतिविधि नगर्ने, सांस्कृतिक कार्यक्रममा भद्र पोशाक अनिवार्य, मेला दिनको १ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्ने अनुमति दिएको थियो । तर स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीका अनुसार यी शर्तहरू व्यवहारमा उल्लङ्घन गर्दै मेलामा दैनिक हाउजी, विभिन्न खेल तमासा तथा जुवाजन्य गतिविधि,मदिराजन्य पदार्थ बिक्री हुने स्टलहरू राखिएको छ।

त्यसैगरी मेला राति १० बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने सर्त भए पनि राति १ बजेसम्म सञ्चालन हुने गरेको उनीहरूको आरोप छ। यसले शान्ति सुरक्षा र सामाजिक वातावरणमा नकारात्मक असर परेको स्थानीयवासीको गुनासो छ।

प्रशासन र आयोजकको फरक दाबी

मेला धरान खेलकुद मञ्चको आयोजनामा सञ्चालन भइरहेको हो। आयोजक समितिका अध्यक्ष किशोर राईले धरान उपमहानगरपालिकाबाट अनुमति लिएर मेला सञ्चालन गरेको बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख वासुदेव घिमिरेले भने,“धरान उपमहानगरपालिकाले सिफारिस गरेबमोजिम जिल्ला प्रशासनले शान्ति सुरक्षाका लागि समन्वय गरेको हो। अनुमति शर्त विपरीत कार्य भए मेला बन्द हुन्छ।,”भन्दै अनुगमन गरिने बताए। उनले जुवा तथा तासजन्य गतिविधि गर्न नपाउने स्पष्ट नियम रहेको र शर्त उल्लङ्घन भए कारबाही हुने स्पष्ट पारे।

खेलकुद कि व्यापार ?

मेलामा खेलकुद प्रतियोगिताभन्दा बढी व्यावसायिक स्टल, झुला, मनोरञ्जन सामग्री र खानाका पसलहरू सञ्चालनमा रहेको स्थानीयहरू बताउँछन्। यसले खेलकुद पूर्वाधारका रूपमा निर्माण गरिएको रङ्गशाला व्यावसायिक प्रयोजनका लागि प्रयोग हुनु कति उपयुक्त हो ? भन्ने प्रश्न उठाएको छ।

खेलाडी तथा खेलकुद अभियन्ताहरू भन्छन्,“रङ्गशाला खेल अभ्यास र प्रतियोगिताका लागि हो। व्यापारिक मेला सञ्चालनले खेलकुदको मर्म नै मर्छ।”

उपमहानगरपालिका स्रोतका अनुसार नगरप्रमुख हर्क साम्पाङको पहलमा मेलाका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। तर उक्त बजेट कुन शीर्षकअन्तर्गत,कुन निर्णय प्रक्रियाबाट,के प्रयोजनका लागि छुटाइएको हो भन्ने विषयमा औपचारिक निर्णय नभएको उपमहानगरपालिकाको दाबी छ।

यस विषयमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंसँग बुझ्दा उनले,“उपमहानगरपालिकाको कुनै आधिकारिक निर्णय भएको छैन, मेयर सापलाई मात्र थाहा छ। उहाँकै तजबिजमा निर्णय भएको हो,”भन्दै औपचारिक निर्णय प्रक्रियाबाट बजेट स्वीकृत नभएको सङ्केत गरे। उनले मेला खेलकुद महोत्सवका लागि मात्र अनुमति दिइएको र अन्य गतिविधिबारे आफूलाई जानकारी नभएको बताए।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार सार्वजनिक बजेट पारदर्शी, प्रतिस्पर्धात्मक र उद्देश्यअनुसार खर्च हुनुपर्ने व्यवस्था छ। तर खेलकुदको नाममा आयोजना भएको मेलामा बजेट दिनु नीतिगत रूपमा मिल्छ कि मिल्दैन ? भन्ने प्रश्नसमेत उठेको छ।

सुरक्षा जोखिमको चिन्ता

धरान जस्तो व्यस्त शहरमा ठुलो मेला सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण र आपतकालीन स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषय हुन् । तर शर्त उल्लङ्घन र रातिसम्म सञ्चालनका कारण जोखिम बढेको स्थानीयहरू बताउँछन्।

आयोजकको पक्ष

धरान खेलकुद मञ्चका अनुसार खेलकुद प्रवर्द्धन, स्थानीय स्रोत जुटाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने उद्देश्यले ‘धरान वृहत् खेलकुद महोत्सव २०८२’ आयोजना गरिएको हो। मञ्चले खेलकुद जगतको दीर्घकालीन विकासका लागि यस्तो कार्यक्रम आवश्यक रहेको दाबी गरेको छ।

mahotsab