झापा : दमक उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन आगामी पुस १८ गते हुने भएको छ ।
दमक उद्योग वाणिज्य सङ्घ निर्वाचन समितिका संयोजक लीला गुरागाईँका अनुसार सङ्घको निर्वाचनका लागि पुस ७ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने ८ गते मतदाता नामावली उपर दाबी विरोध गर्न सकिनेछ ।
सोही दिन मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै, ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने १२ गते उम्मेदवार उपर दाबीबिरोध गर्न समय छुट्ट्याइएको छ ।
सोही दिन अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ । १३ पुसमा उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिन सक्ने गरी समय निर्धारण गरिएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाश गरिनेछ ।
आज सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार १८ गते मतदानको कार्य तालिका छ । यस्तै मतदान पश्चात् मतगणना गरिने निर्वाचन समिति संयोजक गुरागाईँले जानकारी दिए ।
त्रिपक्षीय भिडन्तको सङ्केत
निर्वाचनमा नेपाली काँग्रेस निकट हालका अध्यक्ष गोपाल गुरागाईँसहित एमाले निकटबाट भरतराज चम्लागाई र राप्रपा निकटबाट राजु खड्काको व्यवसायीक प्यानल चुनावी मैदानमा देखिएका छन् ।
गुरागाईँबाहेक अन्य दुई उम्मेदवारले भने तीन महिना अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । नेतृत्वका लागि आन्तरिक रूपमा तीनै वटा प्यानलले व्यवसायीहरुसंग मत माग्न थालिसकेका छन् ।



































































