इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्तासँगको संवादमा लागेका छन् । निर्वाचनको मिति घोषणा भएपछि उनले मोरङ क्षेत्र नम्बर ६ का काँग्रेस कार्यकर्ताहरू सँगको संवादलाई प्राथमिकता दिएका हुन् ।

सोही क्रममा शुक्रवार सुन्दरहरैचा ४ स्थित शिवालय मन्दिरमा पुगेर उनले लामो समय कार्यकर्ताको कुरा सुने । कार्यकर्ताको आक्रोश मिश्रित प्रतिक्रिया पछि उनले माफी माग्दै सम्बोधन सुरु गरे ।

सम्बोधनको सुरुवातमै उनले भने, ‘सर्वप्रथम म माफी चाहन्छु । मैले चाहेर पनि लामो समयदेखि तपाईँहरू सँग भेटघाट गर्न सकिन । तपाईँहरूसँग नियमित भेटघाटमा आउन नपाएकोमा माफी चाहन्छु ।’

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली काँग्रेसले नै पहल गरिरहेको उनले बताए । काँग्रेसले मात्र सबै पक्षलाई मिलाएर संवाद र सहकार्यको माध्यमबाट निकास दिन सक्ने उनले आश्वस्त पारे ।

सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति घोषणा गरेको हुँदा सबैलाई निर्वाचनमा ध्यान केन्द्रित गर्न डाक्टर कोइरालाले आग्रह गरे । काँग्रेसको महाधिवेशनको सन्दर्भमा समेत उनले कार्यकर्तालाई विचलित नभई पार्टीको क्रियाशील सदस्यता वितरणमा ध्यान दिन र सहमतिकै आधारमा समितिहरू चयन गर्न पनि अनुरोध गरेका छन् ।

महाधिवेशनको मिति केही तलमाथि हुनसक्ने आशय व्यक्त गर्दै निर्वाचन अगाडी नै महाधिवेशन हुनेमा ढुक्क हुन आश्वस्त पारे ।