इटहरी : पोखरा प्रवर्द्धन कार्यक्रम अन्तरगत ‘पोखरा सडक महोत्सवको प्रचार गर्दै पर्यटनकर्मीहरू पूर्वका सहरहरूको भ्रमणमा निस्किएका छन् ।
पूर्वका पर्यटन उद्यमी तथा पत्रकार मार्फत निमन्त्रणा बाँड्दै पर्यटनकर्मीको टोलीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
इटहरीको बरन्डा होटेलमा आयोजित पत्रकार सम्मेलनमा पुस १३ गते देखी १७ गतेसम्म अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को स्वागतको लागि सडक महोत्सव हुने बताइएको छ । २७ औँ पोखरा सडक महोत्सवमा पोखरा पर्यटकको लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्न लागिएको हो ।
जेनजी आन्दोलन पछि पोखराको सुरक्षालाई लिएर चासो बढेकाले देशैभर प्रचार अभियान चलाइएको भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका अध्यक्ष गोपीचन्द्र भट्टराईले बताएका छन् । विभिन्न डिजिटल प्लेटफर्म मार्फत सन्देश प्रवाह गरिरहेको भए पनि भेटेरै निमन्त्रणा दिन खोजिएको उनको भनाइ छ ।
कोशी प्रदेशका इटहरी, धरान र विराटनगर लगायतका सहरमा निम्तो बाँडेर जनकपुर र चितवनमा समेत कार्यक्रम गर्ने योजना बनाइएको छ । विदेश घुम्न जाने पर्यटकलाई नयाँ वर्षको अवसरमा पोखरा घुम्ने अवसर प्रदान गर्न लागिएको भट्टराईले बताए । उनले पोखरामा पर्यटन संस्कार रहेको भन्दै सरकार र निजी क्षेत्रका बिचमा सहकार्य आवश्यक रहेको प्रस्ट पारे ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवा तालको किनार लेक साइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा पोखरा सडक महोत्सव हुन लागेको हो ।
२७ वर्ष देखि आयोजना हुँदै आएकाले सो कार्यक्रममा निम्ता बाँड्न देश भरी हिँडेको रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमको भनाइ छ ।


































































