धरान : स्थानीय स्काउट धरानको आयोजनामा पुष १ गतेदेखि ७ दिनसम्म बृहत् साहसिक क्रियाकलाप कार्यक्रम आयोजना हुने भएको छ। स्काउट धरानले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो।

धरानस्थित पानबारी सामुदायिक वन परिसरमा सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्र सिंह हाङमाङले गर्ने तय भएको स्थानीय स्काउट आयुक्त मधुशुधन घिमिरेले जानकारी दिए।

साहसिक, शैक्षिक तथा व्यवहारिक सीप विकासमा केन्द्रित कार्यक्रममा २० वटा फरक–फरक साहसिक क्रियाकलाप सञ्चालन गरिने उनले बताए। कार्यक्रम अवधिभर साहसिक क्रियाकलापसँगै फेस पेन्टिङलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछन्।

कार्यक्रममा करिब दुई हजार हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ भने १० भन्दा बढी पालिकाबाट स्काउट सदस्यहरूको सहभागिता रहने प्रदेश स्काउट आयुक्त हेमन्त भण्डारीले जानकारी दिए।

विपद् उद्धारमा सक्षम जनशक्ति तयार गर्ने, विपद्को सामना गर्न आवश्यक सीप विकास गर्ने तथा मोबाइललगायत डिजिटल उपकरणबाट टाढा राखी बालबालिका तथा युवालाई व्यवहारिक जीवनतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

यस प्रकारको बृहत् साहसिक स्काउट कार्यक्रम यसअघि दुई वर्षअघि झापाको चुलाचुली गाउँपालिका अन्तर्गत चपेटी क्षेत्रमा सम्पन्न भएको प्रदेश आयुक्त भण्डारीले स्मरण गराए। कार्यक्रमको समापन समारोहमा स्थानीय स्काउटका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिने पनि आयोजकले जनाएको छ।

Scout dharan 2