इटहरी : तेस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फाल्गुन २ देखी सुरु हुने भएको छ । इटहरीको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा ८ टिमको सहभागी हुन लागेका हुन् ।
द योङ ब्रदर्स क्लब इटहरीको आयोजनामा हुन लागेको खेलको विजेताले ४ लाख ४० हजार ४४४ र उपविजेताले २ लाख २० हजार २२२ प्राप्त गर्ने भएका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार र उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट गोलकर्ताले १०/१० हजार पाउने भएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ७ हजार नगद पुरस्कार प्रदान गर्न लागिएको हो ।
क्लबका सचिव विज्ञान राईका अनुसार प्रतियोगितामा ३० लाख ५६ हजार खर्च हुने अनुमान छ । त्यसमध्ये सबैभन्दा धेरै खेलाडी भत्ता तथा यातायात र पुरस्कारमा खर्च हुने उनको भनाइ छ । 
इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहेको छ । फाल्गुन ९ गतेसम्म चल्ने प्रतियोगिता हरेक दिन दिउँसो २ बजेदेखि सुरु हुने सचिव राईले बताए । प्रतियोगिताको बारेमा जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा ७ महिला र २८ पुरुष खेलाडीलाई जर्सी वितरण गरिएको थियो ।
yong brothrs 2